• १२ साउन २०८१, शनिबार

नेपालगञ्जमा सुख्खा बन्दरगाह सञ्चालनमा, व्यवसायी उत्साहित

blog

नेपालगञ्ज नाकामा निर्माण गरिएको सुख्खा बन्दरगाह । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, जेठ २० गते । 
पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगञ्ज सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।

लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमा नाकाको रुपैडिहा र नेपालगञ्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुख्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुख्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौँदेखिको सपना पूरा भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले पनि अब यस क्षेत्रका व्यवसायीले आयात निर्यातका लागि अन्य ठाउँमा भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो सुख्खा बन्दरगाह हामी सबैको सपना थियो, जुन अहिले आएर पुरा भएको छ । अब यस क्षेत्रमा निर्यातजन्य उद्योग व्यवसाय बढाउन सबै मिलेर लाग्नुपर्छ ।’’

यसैगरी, नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क शर्माले यो बन्दरगाहले सबैभन्दा बढी लाभ जडीबुटी व्यवसायीलाई हुने बताउनुभयो । उहाँले अब जडीबुटी निर्यातलाई सहज र सरल बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने माग पनि गर्नुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले अब आयात निर्यात निकै सहज हुने जनाउँदै यसबाट उद्योग व्यवसाय फस्टाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नन्दलाल वैश्यले सुख्खा बन्दरगाह निर्माणका लागि आफू सङ्घको अध्यक्ष भएको बेला सबैभन्दा बढी दबाब दिएको स्मरण गर्दै अहिले सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक विकासमा एउटा ठुलो सफलता प्राप्त हुने बताउनुभयो ।

सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएको थियो । भारत सरकारको एक अर्ब ४७ करोड रुपियाँ आर्थिक सहयोगमा सुख्खा बन्दरगाहको निर्माण सम्पन्न भएको हो ।

नेपाल–भारत सिमानाको दुबैतर्फ गरेर ८८ हेक्टरमा फैलिएको बन्दरगाहमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेनटाइन, बैङ्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक, कर्मचारीहरूको आवास गृह लगायतका भवनहरू निर्माण गरिएका छन् ।

सो बन्दरगाहमा ३०० ट्रक र कन्टेनर एकै पटक राख्ने क्षमता रहेको निर्माण कम्पनी राजदीप बिल्डकनले जनाएको छ ।