• १५ वैशाख २०८१, शनिबार

विद्यार्थीका प्रतियोगिता राष्ट्रपति रनिङ सिल्ड

blog

घर बलियो हुनलाई जग राम्रो हुनुपर्छ भन्ने तिमीहरूलाई थाहै छ होला । यो सबैले सुनेकै उखान हो नि । खेलकुदमा पनि यस्तो हुन्छ । स्कुल जीवनदेखि नै खेलकुदको विकास गर्न सकियो भने भविष्यमा सो देशकै खेलकुदको स्तर राम्रो हुन्छ । सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन र राम्रो प्रतिभा खोज्न पर्छ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा राख्न सक्ने खेलाडी मिल्छ । अनि खेलले नेपालको नाम उँचो हुन्छ । ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने देशहरूले खेलकुद विकासको पहिलो लक्ष्य स्कुललाई बनाएको हुन्छ । विद्यार्थी जीवनमा नै प्रतिस्पर्धा गर्ने अवसर पाएमा राम्रो अनुभव पनि हासिल हुने गर्दछ ।

भाइबहिनीहरू, तिमीहरूलाई यस लेखमा विद्यालय खेलकुदलाई महत्व दिएर देशभरि हुने एउटा प्रतियोगिताका बारेमा जानकारी दिने छौँ । जुन प्रतियोगितामा नेपालका सबै जसो विद्यालयले सहभागिता जनाउन पाउँछ । हाम्रो देशमा स्कुल स्पोर्ट्सलाई महìव दिएर देशभर हुने प्रतियोगिता राष्ट्रपति रनिङ सिल्ड हो । यो खेलकुद मेला सुरु भएको १५ वर्ष भयो । विगतमा २०३१ सालमा विद्यालय खेलकुदको अवधारणामा वीरेन्द्र सिल्ड सुरु भएको थियो । । 

देशैभर हुने यो प्रतियोगिता निकै लोकप्रिय थियो । नेपालका हरेक पुराना खेलाडीले वीरेन्द्र सिल्ड खेलेकै हुन्थ्यो तर यस्तो राम्रो प्रतियोगिता निरन्तर भएन । यद्यपि यस्तो खेललाई ब्युँताउनुपर्छ भनेर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही मोडलमा राष्ट्रपति रनिङ सिल्डको आयोजना गरेको हो । यसको उद्देश्य विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी पहिचान गर्ने हो भनेको छ । नेपालमा गणतन्त्र आएपछि वीरेन्द्र सिल्डकै अनुसरण गर्दै राष्ट्रपति रनिङ सिल्डका रूपमा नयाँ ढङ्गले विद्यालय खेलकुद पुनः ब्युँताएको हो । २०६५ सालमा पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड भएको हो । 

राष्ट्रपति रनिङ सिल्डको स्वरूप

राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको स्वरूप निकै राम्रो छ । तीन चरण पार गरेपछि मात्र केन्द्रमा बृहत् रूपमा राष्ट्रपति रनिङ सिल्डको आयोजना हुन्छ । सुरुमा जिल्ला र त्यसपछि प्रदेश प्रतियोगिता हुँदै छनोट भएका उत्कृष्ट खेलाडी केन्द्रमा हुने राष्ट्रिय रनिङ सिल्डमा खेल्न योग्य हुने गर्दछ । ती उत्कृष्ट खेलाडीहरू खेल्न काठमाडौँ आउँछन् । यस अर्थमा राष्ट्रपति रनिङ सिल्डमा नेपालका सबै जसो विद्यार्थीले सहभागिता जनाउन पाउँछ । त्यसैले राष्ट्रपति रनिङ सिल्डमा हजारौँ विद्यार्थी खेलाडी सहभागी हुन्छ । यसको यो सबभन्दा राम्रो पक्ष हो । यस प्रतियोगिताले गर्दा पनि गाउँगाउँमा पनि प्रत्येक विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेको पाइन्छ । राष्ट्रपति रनिङ सिल्डको १३औँ संस्करण यही वैशाखमा सम्पन्न भयो । यति धेरै वर्ष भए पनि राष्ट्रपति रनिङ सिल्ड विगतको वीरेन्द्र सिल्डजस्तो लोकप्रिय भने हुन सकेको छैन ।

लुम्बिनी भयो च्याम्पियन

यसपालिको राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी छ खेलमा प्रतिस्पर्धा भएको थियो । जुन विगतमा भन्दा कम हो । जसमा विभिन्न चरणबाट चयन भएका सातै प्रदेशका ६५८ खेलाडी सहभागी थिए ।

यस पटक लुम्बिनी प्रदेश च्याम्पियन भयो । कुल २० स्वर्ण, आठ रजत र पाँच कांस्य पदक जितेर च्याम्पियन भयो । विद्यालय खेलकुदमा लुम्बिनी प्रदेश उत्कृष्ट भएको दृष्टान्त यो पहिलो होइन । राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीले लगातार तेस्रो पटक च्याम्पियन भएर ह्याट्रिक गरेको हो । 

मलजल हुन सकेन

निःसन्देह नयाँ प्रतिभाको खोजी गर्न सकिने यस्तो प्रतियोगिताले थुप्रै खेलाडी जन्माउने मात्र होइन, ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पनि प्रदान गरेको छ । राष्ट्रपति रनिङ सिल्डबाटै सुरुवात गरेर नेपालले केशरी चौधरीजस्ता खेलाडी पनि पाएको छ । यसपालि असाधारण खेलाडी नदेखिए पनि केही प्रतिभा अवश्य देखियो ।  लुम्बिनीका सुदीप थारू, सुजल डाँगी, रेसु चौधरीजस्ता खेलाडी चम्किए । हुनत विगतमा पनि यस्ता प्रतियोगितामा थुप्रै प्रतिभाशाली खेलाडी नजरमा नआएको होइन तर त्यसपछि तिनीहरूको मलजल गर्ने कार्य भने कहिल्यै भएन । हजारौँमध्येबाट उत्कृष्ट भएका यी खेलाडीलाई अब उचित प्रशिक्षण र शिक्षाको वातावरण मिलाउन सकेमा राष्ट्रपति रनिङ सिल्डको आयोजना सार्थक हुनेछ ।