• २४ वैशाख २०८१, सोमबार

पर्यटन प्रवर्धन गर्न संरचना निर्माण

blog

हुम्ला समाचारदाता

सिमकोट, जेठ १९ गते । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको हुम्लाको खार्पुनाथ शिवालयको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेसँगै भक्तालुहरूलाई सहज हुने भएको छ । कर्णाली र दोजाम कर्णालीको दोभानमा रहेको यस परम्परागत मन्दिरलाई यसअघि आधुनिक संरचनामा निर्माण गरिसकिएको छ । शिवालयलाई आकर्षक बनाउन एक वर्षदेखि विभिन्न संरचना निर्माण भइरहेको थियो । 

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले महाभारतकालीन समयसँग जोडिएको शिवालय सजाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कर्णाली कोरिडोरले समेत छोएको सो क्षेत्रको दुवैतिर प्रवेशद्वार निर्माण सम्पन्न भइसकेको छ । सो क्षेत्रमा तातोपानीको मुहान पनि रहेको छ । मन्दिरको प्रवेशद्वारमा ढुङ्गामा कुँदिएको साँढे निर्माण गरिएको छ । भक्तालुहरूका लागि दुई वटा धर्मशाखासमेत निर्माण गरिएको छ । 

कर्णाली प्रदेश सरकारको पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा शिवालयको संरचना निर्माण हुँदै आएको छ । अध्यक्ष रावलले धार्मिक महत्व झल्काउन र पर्यटन प्रवर्धन गर्न संरचना निर्माण गरिएको बताउनुभयो । माघेसङ्क्रान्तिमा  विशेष मेला लाग्ने शिवालय क्षेत्रमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गर्छ । मानसरोवर कैलाशको दर्शनका लागि आउने धार्मिक पर्यटकहरू एक पटक यस शिवालयमा दर्शन गर्न जानुपर्ने धार्मिक मान्यता रहेको छ ।