• १३ असोज २०८१, आइतबार

धनकुटामा पानीको हाहाकार

blog

धनकुटा, जेठ १७ गते । पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ । धनकुटा नगरपालिका वडा नम्बर ३ सेउलेस्थित वाग्ले सामुदायिक वन र देब्रेवासको बनमा डढेलो लागेका कारण खानेपानीको करिब तीन किलोमिटर पाइप लाइनमा क्षति पुगेको थियो । उक्त क्षतिका कारण पानी वितरण हुन नसक्दा स्थानीय मारमा परेका छन् ।

बञ्चरे खोलाबाट ‘पम्पिङ’ गरेर पानी ल्याउन प्रयोग गरिएको नौ वटा पम्प पनि विद्युत् गडबडीका कारण जलेपछि धनकुटामा दुई सातादेखि खानेपानी वितरणमा समस्या आएको हो । जसका कारण बजारमा खानेपानीको चरम अभाव छ । स्थानीयलाई धनकुटा नगरपालिकाको  पानीको दमकलबाट पानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या टार्न दमकलबाट घरघरमा पानी पुर्‍याउन थालिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।

बजारमा पानीको हाहाकार भएपछि स्थानीयमा सङ्कट भएको हो । धनकुटा नगरपालिकाले मङ्गलबारबाट धारामा नियमित पानी नआउँदासम्मका लागि वैकल्पिक रूपमा दमकलबाट पानी वितरण गर्न सुरु गरेको छ ।

‘‘जतिसक्दो चाँडो नियमित पानी वितरणका लागि हामी लागि परिरहेका छौँ । दिनरात नभनी काम भइरहेको छ, जलेको पाइप फेर्ने काम सकिएको छ, बिग्रिएको पम्प पनि बनाउँदै गरेकाले चाँडै धारामा नियमित पानी आउँछ,’’ नगर प्रमुख एवम् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङ भन्नुभयो, ‘‘सबैतिर धारामा नियमित पानी नजाँदासम्म दमकलबाट पानी वितरण गछौँ ।’’