• १३ साउन २०८१, आइतबार

पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन

blog

पूर्व राज्यमन्त्री मीना पाण्डे । फाइल तस्बिर

काठमाडौं, जेठ १६ गते। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ। 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार अपराह्न काठमाडौं गौशालास्थित निजी निवासमा उहाँको निधन भएको हो। २००८ सालमा जन्मनु भएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएको थियो। तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य बन्नुभएको थियो। अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर अहिले पशुपति आर्यघाटमा राखिएको छ। 

पाण्डे नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति हुनुभएको थियो। नेपालमा प्रजातन्त्रको स्थापना र पुनर्स्थापनाका क्रममा उहाँले पटक–पटक जेल जीवनसमेत व्याप्ति गर्नुभएको थियो। उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ। 

पाण्डेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदान स्मरणीय रहने भन्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँले परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ। 

सभापति देउवाले भन्नुभएको छ, “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला नेतृ मीना पाण्डेको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ। उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु।”

उहाँको निधनप्रति शोक प्रकट गर्दै कांग्रेसले तीन दिन पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा आधा भण्डा झुकाउने निर्णय गरेको छ। उहाँको शोकमा बुधबार केन्द्र र जिल्ला कार्यालय बन्द हुनेछन्। निधन भएको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ।