• २५ वैशाख २०८१, मङ्गलबार

बेहडाबाबा मन्दिरमा दशनार्थीको घुइँचो

blog

बेहडाबाबामा दशनार्थी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ १६ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दशनार्थीको घुइँचो लागेको छ । गङ्गा दशहराको अवसरमा पूजापाठ र मन्दिरको दर्शन गर्नेको मंगलबार घुइँचो लागेको हो । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गा दशहराको अवसरमा नेपाल भारतका दशनार्थीले मन्दिरमा पूजाआजा गर्नुका साथै शिव भगवानको दर्शन गर्ने गर्दछन् । यहाँ भारतको उत्तर प्रदेशबाट धेरै संख्यामा दशनार्थी आउने गर्दछन् । 


बेहडाबाबाको पत्ता भारतीयले नै लगाएका कारणले यसप्रति भारतीय नागरिकको विशेष लगाव रहेको छ । जेठ १४ गतेदेखि हालसम्म करिब एक लाख भारतीय नागरिकलेमात्रै बेहडाबाबाको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार १४ र १५ गते भारतीय दशनार्थीमात्रै रहेका थिए । यसैगरी, नेपाली तीर्थालुहरु भने जेठ १९ गतेसम्म आउने जनाइएको छ । सबै मिलाएर यस वर्ष १० देखि १५ लाख दशनार्थीले बेहडाबाबाको दर्शन गर्ने अनुमान गरेको जोशीले बताउनुभयो । 

बेहडाबाबा मन्दिरको दर्शनसहित पूजाआजा गर्नाले सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वास रहेकाले टाढा–टाढाबाट कष्टपूर्ण यात्रा गरेर दशनार्थी बेहडाबाबाको दर्शन गर्न आउने गर्दछन् । बाटो सहज नभएका कारण समस्या हुने गरे पनि बेहडाबाबाप्रतिको विश्वासको कारण हरेक वर्ष दर्शन गर्न आउने गरेको भारतको उत्तर प्रदेश खिरी ब्ल्याका नियाका सोहनलाल साहुले बताउनुभयो । 

दशनार्थीको घुँइचो भए पनि व्यवस्थापन भने फितलो देखिएको थियो । सडक जामले गर्दा दशनार्थीले कष्टपूर्ण यात्रा गरेर बेहडाबाबासम्म आउनेजाने कार्य गरिरहेका थिए । बेहडाबाबा धनगढीबाट ११ किलोमिटरको दूरीमा रहेको छ ।