मेरो अन्तस्करणमा पशुवत् लक्षण थिए,
म घाँस खान लालायित भएँ ।
घाँसको स्वाद कस्तो हुन्छ मलाई थाहा थिएन तर म त्यो राक्षसजस्तो
गोठालोको हातमा हल्लिरहेको एक मुठी घाँस देखेर मनको दाम्लो
छिनाल्दै त्यतातिर बेतोडले दौडिएँ ।
सायद म अघिल्लो जन्ममा कुनै राजाको घोडा थिएँ जसको एक मात्र
ध्यान युद्ध गर्नु मात्र थियो । तर लडाइँको मैदानमा भोकको के
महìव, त्यसमाथि मुखमा पसेर जिब्रो थिच्ने टर्रो फलाम ?
युद्धसर्दारलाई पिठ्युँमा बोकिरहनु, म अभागी घोडाको एक मात्र नियति
हो । चर्को भोकको तोडमा फलामको स्वाद लिँदै कुदिरहनु, दासताको
वरदान हो ।
वा :
झन् अघिल्लोको अघिल्लो जन्ममा म कुनै धोबीको गरिब गधा थिएँ,
मरीमरी बोझ बोक्ने तर पेटभरि घाँस खान नपाउने ।
होइन, होइन, म मालिकद्वारा परित्यक्त भोको खच्चड थिएँ जो सधैँ
घाँस खान पाउने सपनामा बाँचिरहेको हुन्छ ।
अहिले पनि म दाम्लोभित्रको पशु हुँ । मेरो आत्मा बन्धकीमा छ ।
मैले नै आफूलाई त्यो क्रूर गोठालोकहाँ बन्धकी राखेको हुँ ।
म झोले हुँ– मालिकहरूको सेवार्थ सधैँ खटिइरहने ।
म दास हुँ– व्यभिचारी शासकहरूको जय गान गर्ने ।
म अन्तस्करणभित्र एक लुब्ध प्रेतात्मा हुँ ।
वा :
म त्यो थारो गाई हुँ जो गर्भ तुहिएपछि खोला किनारमा गाडिएको
आफ्नो मृत शिशुको गन्ध सुँध्न पागलझैँ भौँतारिइरहन्छ ।
वा :
म महाकविले चाहेर पनि हुन नसकेको भेडा हुँ
(प्रभुजी मलाई भेडो बनाइदेऊ !)
मेरो अन्तस्करणमा पशुवत् लक्षण छन् ।
म घाँस खान लालायित छु ।