‘को ?’, उसले सोध्यो
‘मनुष्य’, मैले भनेँ
‘देश’, उसले सोध्यो
‘क्षुद्रताभन्दा पर’, मैले भनेँ
‘जाति’, उसले सोध्यो
‘अझ सुध्रेनौ’, मैले भने
‘कुन दलमा’, उसले सोध्यो
‘फेरि बाँड्न थाल्यो’, मैले भने
‘अनि धर्म नि’, उसले सोध्यो
‘जसले मानिसलाई मानिस हुन सिकाओस्‘
‘अधर्म नि’, उसले फेरि सोध्यो
‘सङ्कीर्णता’, मैले भनेँ
‘र पाप’ !
‘आवेशमा मनुष्य हुन बिर्सनु’
उसले सोधिरह्यो, मैले भनिरहेँ
प्रश्नोत्तर लामो थियो
ऊ नयाँ यक्ष थियो
म सत्यको खोजीमा व्यग्र
जनकुलको एक नयाँ कवि
अस्वतन्त्र प्रज्ञा,
अभिशप्त आस्था,
अस्वस्थ संस्कार,
अहङ्कारको अविच्छिन्न उत्तराधिकार,
खण्डित विश्वास
यावत् प्रश्न कुण्डमा जेलिएको कवि
कविलाई हुन त थाहा छ प्रश्न पछाडिको अन्तर्निहित वेदना
मैले पनि सोधेँ, सोध्नुका शक्ति र सीमाहरू
एक अदना कविका तिर्खाको प्रश्न छाड !
टुङ्गोमा पुग्न नसकिने गनगन छाड !
ऋाफ्नो धरातलमा को खडा छ सही सही
सही प्रश्नका गलत उत्तर दिएर पनि अब्बल आएका छन् जो
अब सही उत्तर खोज्ने समय आएन र यक्ष महाराज !