• ७ वैशाख २०८१, शुक्रबार

गणतन्त्रको १५ वर्ष

खेलकुदको अवस्था परिवर्तन गर्न लगानी र सोच आवश्यक

blog

काठमाडौं, जेठ १४ गते । नेपाली जनताले लामो सङ्घर्ष र आन्दोलन गरेर प्राप्त गरेको ठूलो उपलब्धि हो, गणतन्त्र। गणतन्त्र स्थापना भएपनि नेपालको हरेक क्षेत्रले अपेक्षा अनुसार परिवर्तन गर्न नसकेको यथार्थ छ। अझ खेलकुद पुरानै संरचना र ढर्रामा चलिरहेको छ। 

खेलकुदलाई पञ्चायतकालमा पनि स्वार्थसिद्ध गर्ने थलोको रूपमा प्रयोग गरिएको थियो। बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा खेलकुद राजनीतिक दलको कार्यकर्ता भर्ती केन्द्रको रूपमा प्रयोग भइरहेको छ।

नेपाली खेलकुदमा लामो समय काम गर्दै आउनुभएका कर्मा छिरिङ शेर्पा गणतन्त्र राजनीतिक शासन पद्धतिमा राम्रो व्यवस्था भए पनि राजनीतिक परिवर्तनसँगै खेल क्षेत्रमा चाहेको परिवर्तन हुन नसकेको बताउनु हुन्छ। 

‘‘खेलकुदको भौतिक संरचनाको कुरा गर्दा पञ्चायत कालमा विकास भएको हो। तर पञ्चायतमा खेलकुदलाई स्वार्थको लागि प्रयोग गरियो। गणतन्त्र आएपछि पनि वास्तविक खेलाडी र खेलकर्मी निराश भइरहेको अवस्थालाई नकार्न सकिन्न,’’ शेर्पा भन्नुहुन्छ। 

शेर्पाका अनुसार २०६२/०६३ सालको आन्दोलनको मुख्य उपलब्धिका रूपमा गणतन्त्र स्थापना भयो। तर नयाँ संविधान बन्न आठ नौ वर्ष लाग्यो। अझ ऐन नियमावली बन्न धेरै समय लाग्यो। खेलकुदमा पनि पुरानै नियम र ऐनसँग चलिरहेको अवस्था छ। नयाँ खेलकुद ऐन बनेको तीन वर्षमात्र भएको छ। अझै यस ऐनलाई नेपालको शासकीय स्वरूप र सङ्घीय संरचनाको रूपमा प्रयोगमा ल्याउन सकिएको छैन। 

‘‘खेलकुद भन्नासाथ राजनीतिक दलको नेतृत्वले मन खुम्च्याउने अवस्था छ। तर राजनीतिक दल र नेतृत्वले खेलकुदलाई बुझ्न नसकेको रूपमा लिन्छु । म खेलकुद देशको गौरव बढाउने र स्वस्थ नागरिक निर्माण गर्ने स्थल हो। यसमा गरिएको लगानीले देश निर्माणमा ठूलो सहयोग गर्छ। खेलकुद केवल प्रतियोगिता र जित हार मात्र होइन। यसमा पर्यटन, राष्ट्रको इज्जत र प्रतिष्ठा गाँसिएको छ। त्यसैले खेलकुदमा गरिएको लगानी खेर जाँदैन,’’ शेर्पाले भन्नुभयो। 

नेपाली खेलकुदको विकासका लागि भौतिक संरचना निर्माण पहिलो सर्त भएको शेर्पाको बुझाइ छ। ‘‘सरकारले खेलकुदको भौतिक संरचना निर्माणमा लगानी गर्नु आवश्यक छ। अहिले नीति तथा कार्यक्रममा क्रिकेट खेलको संरचना निर्माणका लागि ठूला लगानीको कुरा भएको छ। अन्य खेलकुदको संरचना निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ। ग्रासरुट स्तरबाटै खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, दक्ष प्रशिक्षक र प्रशिक्षणको व्यवस्था जस्ता कुरामा ध्यान दिनुपर्छ,’’ शेर्पा भन्नुहुन्छ। 

खेलकुदमा राम्रो सम्भावना हुँदा हुँदै लगानी कम हुँदा पछिल्लो समय राम्रा खेलाडी विदेश गइरहेको शेर्पाले बताउनुभयो। ‘‘राजनीतिक दल र नेतृत्वमा खेलकुदमा लगानी बढाउने इच्छाशक्ति हुनुपर्छ। खेलकुदलाई उत्पादक क्षेत्रको रूपमा लिने सोच बनाएमात्र प्रगति गर्न सकिन्छ। नेपाललाई साहसिक खेलकुद केन्द्रको रूपमा विकास गर्न सकिने अवस्था छ। यहाँको प्राकृतिक र भौगोलिक अवस्थालाई नेतृत्वमा रहेकाले मध्यनजर गर्नु आवश्यक छ। राजनीति हरेक चिजको मुलनीति हो। राजनीतिबाटै सबै विषयको समाधान सम्भव हुने भएकोले गणतन्त्रमा खेलकुद क्षेत्रले पनि नयाँ फड्को मार्ने निश्चित छ,’’ शेर्पाले भन्नुभयो। 

खेल क्षेत्रमा लगानीका लागि सरकारसँगै निजी क्षेत्रको सहभागिता र सहकार्य पनि उत्तिकै आवश्यक रहेको शेर्पाको बुझाइ छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निवर्तमान अध्यक्षसमेत रहनुभएका शेर्पाले नेपाली खेलकुदको अवस्था र यथार्थबारे जानकारी दिँदै हालैमात्र नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई खेलकुदको विकास र सुधारका लागि १५ बुँदे सुझावसमेत दिनुभएको छ। 

गणतन्त्र स्थापनापछि नेपाली खेलकुदको अवस्थाबारे शेर्पासँग गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :



Author

गोविन्द रेग्मी