रामकृष्ण बोहरा
बागलुङ, कात्तिक ७ गते । एक जना १३ वर्षीया बालिका ज्वरो आएर उपचार गर्न धौलागिरि प्रादेशिक अस्पताल आउँदा काउन्सिलिङपछि बलात्कार भएको पत्ता लाग्यो । जबरजस्ती करणीपछि गर्भ रहेको र गर्भपतनको कारण उहाँ बिरामी पर्नुभयो ।
उपचारपछि घटनाबारे अनुसन्धान गर्दा आफ्नै केटा साथीबाट जबरजस्तीमा परेको रहस्य खुल्यो । चार वर्षअघिको यो प्रतिनिधिमूलक घटना मात्र थियो । जबरजस्ती करणी, कुटपिट, शारीरिक तथा मानसिक हिंसाका घटनाबाट पीडित महिलाले मूल समस्या नभनी अन्य समस्या देखाएर अस्पतालबाटै उपचार गर्छन् ।
‘‘काउन्सिलिङबाट उनीहरूको समस्या पत्ता लाग्छ । कतिपयले बताउनै चाहन्नन्’’ अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) की फोकलपर्सन देवी भट्टराईले अनुभव सुनाउँदै भन्नुभयो, ‘‘पीडित नखुल्दा घरेलु हिंसाका घटना दबिएका हुन्कि आशङ्का छ ।’’
गत आर्थिक वर्ष पनि एक महिला खुट्टामा चोट लिएर अस्पतालमा आउनुभयो । उहाँले लडेर चोटको बताउनुभयो । पछिमात्र आफ्नै पतिले हतियारले हानेपछि घाउ लागेको थियो । त्यसपछि उहाँको उपचार खर्चमा अस्पतालले सहयोग गरेको थियो । ओसीएमसीले यस्तै, हिंसापीडितको उपचारमा साथ दिंंदै आएको छ ।
धौलागिरि प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०६७–२०६८ देखि ओसिएमसी सञ्चालनमा छ । तर पीडितले खुलेर बताउन नसक्दा कतिपय घटना बाहिरै नआएको फोकलपर्सन भट्टराईले बताउनुभयो । बाह्र वर्ष अघिदेखि सञ्चालित ओसिएमसीमा हिंसा पीडितको उपचार गरिँदै आइएको छ ।
यहाँ आउने अधिकांशले वास्तविक समस्या लुकाएर उपचारमा आउने गरेका छन् । ‘अधिकांशले लडेको, पेट दुखेको, ज्वरो आएको भन्छन्’’ भट्टराइले भन्नुभयो, ‘‘घरेलु हिंसाकै कारण कतिपय मानसिक समस्यामा परिसकेकाहरू पनि छन् ।’’
हिंसाका घटनाहरू बढीरहे पनि पछिल्लो तीन वर्षमा उपचारमा आउनेको सङ्ख्या घटेको छ । आ.व. २०७९–८० मा एक सय २२ जनालाई सेवा दिइएकोमा आ.व. २०८०–८१ मा पनि एक सय २२ जनाकै उपचार भएको थियो । आ.व २०८१–८२ माभने ८५ जनाले मात्र सेवा पाएका छन् । सेवा लिनेमा ७२ जना महिला छन् । १२ पुरुष छन् ।
प्रहरीमा आएको उजुरीबाट रिफर गरिएका, समुदाय वा स्थानीय तहबाट र आँफै आएकाहरूको अस्पतालमा निःशुल्क उपचार गरिने भट्टराईले जानकारी दिनुभयो । त्यसका लागि उनीहरू हिंसामा परेको जानकारी हुनुपर्छ । ओसिएमसीले त्यसका लागि पालिका तहमा सचेतना अभियान चलाएर हिंसा पीडितलाई उपचारमा आउन आग्रह गर्दैआएको छ ।
त्यसबाहेक स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई पनि हिंसापीडित भए अस्पताल पठाइ दिन आग्रह गरिएको भट्टराईले बताउनुभयो । बिरामीलाई उपचार गरेर घर फर्कने बाटो खर्च समेत दिएर पठाउने गरिएको छ ।