• १६ चैत २०८०, शुक्रबार

गणतन्त्र दिवस विशेष कुराकानी

राष्ट्रका मुद्दामा दलले साझा दृष्टिकोण बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला

blog

काठमाडौं, जेठ ११ गते। शान्ति प्रक्रियालाई निष्कर्षमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका मुद्दामा दलले साझा दृष्टिकोण बनाउनुपर्ने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा गोरखापत्र अनलाइनसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले राज्य सञ्चालनमा विगतमा देखिएका त्रुटि र दलहरुले लिने नीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यकतासमेत औंल्याउनु भएको छ। पूर्व उपप्रधानमन्त्री सिटौलाले भन्नुभयो, ‘‘राज्य सञ्चालकमा विगतमा त्रुटि देखिएको छ। दलहरुको आन्तरिक व्यवस्थापन कमजोर देखिएको छ। दलहरुले लिने नीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यक देखेको छु। जनताले लिने समस्याको विषयमा ख्याल गर्नु आवश्यक छ।’’ 

उहाँले देशमा फेरि एक पटक राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने सबै राजनीतिक दल र यससँग जोडिएको वर्ग नागरिक समाज एक ठाउँमा बसेर पुनर्विचार गर्ने समय आएको उल्लेख गर्नुभएको छ। 

उहाँले भन्नुभयो, ‘‘कसरी यो परिवर्तनलाई जनताको पक्षमा साकार पार्ने भन्ने पक्षमा सबैले सोच्नु र पुनर्विचार गर्नु जरुरी छ।’’ उहाँले सबैले मिलेर समाज र देश निर्माण गर्ने भन्दै गणतन्त्र दिवसको शुभकामना दिनुभएको छ। 

नेता सिटौलाले भन्नुभयो, ‘‘सबैले मिलेर समाज बनाउने हो। सबैले मिलेर राष्ट्र निर्माण गर्ने हो। देश एउटा कसैले निर्माण गर्ने होइन। सबैले मिलेर राष्ट्रिय एकता र राष्ट्रिय सहमति निर्माण गरेर अगाडि जाने सद्बुद्धि तपाईं हामी सबैमा आउन सकोस्। म आजको दिनमा यही शुभकामना दिन्छु।’’ कांग्रेस नेता सिटौलासँग गणतन्त्र दिवसको अवसरमा गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल र मनोजरत्न शाहीले गरेको संक्षिप्त कुराकानी :


 गणतन्त्रको १५ वर्षका उपलब्धि के हुन् ?  

राजनीतिक रुपबाट जनतामा सर्वोच्चता स्थापित भएको छ। जनता र जनताको निर्वाचित संस्थामाथि अरु कुनै संस्था छैन। जनताको निर्वाचित संस्थाले बनाएको संविधान र त्यसअन्तर्गत बनेका कानुनबमोजिम सबै संस्था परिचालित हुनुपर्ने मान्यता स्थापित भएको छ। राजाको पालामा जस्तो हुकुमी शैलीमा चल्दैन। अहिले त्यो छैन। राजनीतिक दृष्टिले गणतन्त्र भनेको सर्वभौमसत्ता, राजकीय सत्ता जनतामा निहित हुने व्यवस्था हो। त्यो संविधानतः स्थापित भएको छ। तर त्यसपछि जनताको आर्थिक, सामाजिक प्रगति, देशलाई समुन्नत र समृद्ध राष्ट्र बनाउने अभियानमा उल्लेख्यनीय काम भने हुन सकेको छैन। गणतन्त्र घोषणा भएको निकै लामो समय भयो। गणतन्त्र घोषणापछिको पहिलो संविधानसभा असफल भयो। संविधान निर्माणपछि संविधान बनेपछि संविधानले निर्धारण गरेको लक्ष्य गन्तव्य बमोजिम राज्यले जनतालाई उपलब्धि हासिल गर्न सक्नुपथ्र्यो तर त्यो कार्यदिशामा राज्य सफल भएकोजस्तो लाग्दैन। त्यही नेर जनताको गुनासो उठ्न थालेको छ। यही कमजोरीबाट अनेक प्रकृतिका खेल बन्न थालेको र अनेकौँ प्रकारका षड्यन्त्र हुन थालेको आभास हुन थालेको छ। आजको दिनमा गणतन्त्र ल्याउन, गणतन्त्र बमोजिमको संविधान ल्याउन जति पनि राजनीतिक दल, नागरिक समाजका मानिस र प्रबुद्ध वर्ग जति पनि संलग्न हुनुभएको छ। आन्दोलनबाट परिवर्तन ल्याउन, परिवर्तनबाट बमोजिम गणतन्त्रको संविधान निर्माण गर्न जति पनि राष्ट्रिय राजनीतिक शक्ति, राजनीतिक दल र अन्य समाज यसमा संलग्न भएका छन्। उनीहरु फेरि एक पटक एक ठाउँमा बसेर राष्ट्रसामु उपस्थित चुनौतीहरुको सामना गर्नका लागि छलफल गर्नु आवश्यक छ। राष्ट्रका कतिपय साझा मुद्दामा राजनीतिक दलले एक ठाउँमा बसेर साझा ढङ्गले दृष्टिकोण बनाउनुपर्छ। जुन पार्टी, जुन नेताको नेतृत्वमा मन्त्रिपरिषद् बने पनि त्यसलाई बोकेर अगाडि जानु आजको आवश्यकता हो भन्ने मलाई लागेको छ। 


गणतन्त्र घोषणाको समयलाई कसरी सम्झनुहुन्छ ? 

नेपाल देश बनेदेखि नै एक प्रकारको सामन्ती शासन व्यवस्था वा सामन्ती प्रथा चल्दै आएको हो। समाजका हरेक अङ्गमा राजा, राणा वा पञ्चायत अवधिमा वा शासनमा सामन्ती प्रथा चल्यो। २०४६ सालको आन्दोलनपछि बहुदल आए पनि जनताका लागि संसद सर्वोपरि बन्न सकेन। जनताले समग्र कुराको मूल्याङ्कन गर्ने हो। जनताका निर्वाचित प्रतिनिधिले संसदमार्फत् प्रदेशसभामार्फत र अहिलेको संविधानले बनाएका संवैधानिक निकायमार्फत् जनतालाई उल्लेख्य प्रगति दिनसक्ने प्रशस्त आधार छन्। त्यसमा राज्य सञ्चालकले ध्यान दिनु आवश्यक छ। राज्य सञ्चालक भनेको कानुन निर्माण गर्ने संसद्, प्रतिनिधि सभा, राष्ट्रिय सभा दुवै हुन्। प्रदेश सभा, स्थानीय तह र संवैधानिक निकाय सबै हुन्। यी ठाउँमा बस्ने प्रमुख व्यक्तिको काँधमा ठूलो दायित्त्व छ। त्यो दायित्त्व बोध गरेर जनताको लागि समर्पित भएर काम गर्नुपर्छ। त्यसका लागि नेपालमा फेरि एक पटक नयाँ पन चाहिएको छ। यो पुरानो ढर्राले हुँदैन। राज्य सञ्चालकमा विगतमा त्रुटि देखिएको छ। राजनीतिक दलहरुको आन्तरिक व्यवस्थापन कमजोर देखिएको छ। राम्ररी चल्न सकेका छैनन्। दलहरुले लिने नीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यक देखेको छु। जनताका समस्याको विषयमा ख्याल गर्नु आवश्यक छ। गणतन्त्र दिवसको अवसरमा यत्ति भन्न चाहन्छु, फेरि एक पटक राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने सबै राजनीतिक दल र यससँग जोडिएको वर्ग नागरिक समाज एक ठाउँमा बसेर पुनर्विचार गर्ने समय भयो। कसरी यो परिवर्तनलाई जनताको पक्षमा साकार पार्ने भन्ने पक्षमा सोच्नु आवश्यक छ। सबै राजनीतिक दल सम्पूर्ण दाजुभाइ, दिदीबहिनीमा शुभकामना भन्न चाहन्छु। तपाईं हामी सबैले मिलेर समाज बनाउने हो। सबैले मिलेर राष्ट्र निर्माण गर्ने हो। देश एउटै कसैले मात्र निर्माण गर्ने होइन। सबैले मिलेर देश बनाउने हो। त्यसका लागि राष्ट्रिय एकता र राष्ट्रिय सहमति निर्माण गरेर अगाडि जाने सद्बुद्धि तपाईं हामी सबैमा आउन सकोस्। म आजको दिनमा यही शुभकामना दिन्छु। 

पछिल्लो राजनीतिक घटनाक्रम र भ्रष्टाचारका मुद्दालाई कसरी हेर्नुभएको छ ? 

समाजमा विभिन्न प्रकृतिका घटना हुन्छन्। यसलाई आफूले हेर्ने न्यायको प्रक्रिया निरन्तर चलिरहन्छ। यसमा कुनै आत्तिनुपर्ने अवस्था छैन। सरकारको अनुसन्धान गर्ने निकायले जे अनुसन्धान गर्छ अदालतमा लान्छ। अदालतले जे फैसला गर्छ त्यसलाई मानेर हिँड्नुपर्छ। हाम्रो पद्धति त्यो हो। त्यस्ता घटनाबाट कसैले विचलित हुनुपर्ने अवस्था छैन। यसलाई धेरै उचाल्नु पनि ठीक छैन। धेरै उचालेर कसैलाई सिध्याइहालौं भन्ने पनि होइन। समाजमा हुने विविध प्रकृतिका घटनाबाट वा यसैको कमजोरीलाई उचालेर सबैथोक बिग्रियो भन्नु हुँदैन। व्यवस्था र परिवर्तन गलत भयो भन्नु हुँदैन। परिवर्तन नै गलत हो भन्नेतर्फ जानु गलत हो। राज्य सञ्चालनको परिभाषा तपाईंले पनि बुझ्नुहुन्छ। पद्धति एउटा हो। पद्धति सञ्चालन गर्ने नेता र राज्यका विभिन्न निकायमा रहने प्रमुखहरु र प्रमुखलाई सहयोग गर्ने सबै व्यक्तिले आफूलाई सच्याएर विगतको आफ्नो क्रियाकलापको आत्मसमीक्षा गर्नुपर्छ। आफूलाई सुधार गरेर नयाँ ढङ्गले अगाडि जानु आजको दिनमा आवश्यक छ।