सूर्य, संसारकै दृष्टिमा छ
तर छैनन् धरतीका कुनाकाप्चा
उही सूर्यको दृष्टिमा
सिंहदरबार आफूलाई सूर्य ठान्छ
र त देख्दैन कुनाकाप्चाहरू कहिल्यै !
युगौँ युगदेखि लुकेका पहाड
लुकिरहेका हजारौँ पहाडहरू
छेलिएकै छन् आजपर्यन्त
सिङ्गापुर बनाउने शासकहरूका दृष्टिमा ।
बाध्य छन्, विवश छन् उनीहरू
अँध्यारोमा सल्बलाउन
अभिशप्त छन् सुम्सुम्याउन
जूनको शीतल अनि घामको न्यानो
तर कहिले ? प्रश्न सधैँ अनुत्तरित बनिदिन्छ ।
न विकासको ‘ब’, न समृद्धिको ‘स’
न बजेटको ‘ब’, न न्यायको ‘न’
केही छैन, केही पाउँदैनन् कहिल्यै
निरक्षर लुकेका पहाडहरू
न गर्छन् माग, न दिन्छन् दबाब
न आन्दोलन थाहा छ, न छ धर्ना
सादगी ती पहाड सन्तोकी छन् सधैँ सधैँ ।
पर्खिए पञ्चायतपछिको प्रजातन्त्र पनि
लडे र ल्याए लोकतन्त्र, गरे गणतन्त्रमा गौरव
भएन तर पूरा देश समृद्ध बनाउने सपना
दसकौँदेखि गुम्सिएका उनीहरूमा
देखिरहेछु बिस्फोटको सम्भावना
त्यसैले सायद जुर्मुराउन थालेका छन्
र त सबक सिकाउँदैछन् अचेल
सत्ता सम्हाल्न जानेहरूलाई ।
बिर्सिएका छैनन् लुकेका पहाडहरूले
सियो बनेर आउने र फाली बनेर जानेहरूलाई
किनकि हेर्नुछैन अब तिनलाई हिटलरका अनुहार पनि ।
ओ यस देशका ‘महाशय’हरू !
सुन, तिमीलाई सिंहदरबार छिराउने पहाडहरू
तिमीलाई संसद् अनि सत्तामा पु¥याउने पनि पहाडहरू
नबिर्स बरु न्याय देऊ, विकास अनि समृद्धि देऊ
नत्र बाल्नेछन् राँको ।