हामीले बनाएका मेसिनहरू
आज हामीलाई मेसिन बनाउन तुल्य छ
हाम्रा हातहरू सुस्ताएको छ
आँखाहरू निदाएका छन्
दिमागहरू गुगलका निर्देशन भित्र मात्रै चल्न
साँधुरिएको छ ।
किताब, कपी र कलम
चाहिँदैन रे नानीहरूलाई
ग्याजेट र इन्टर्नेटको पहुँच भए पुग्ने भो
गुरु र गुरुकुलको संस्कार त
एकादेशको कथामा
अचम्मको संस्कार भएर रुमल्लिने भो ।
सिक्न गुरु किन चाहियो
पढ्न स्कुल जानै किन प¥यो
चाडपर्वमा भान्सा चिरिच्याट्टै
कोठामा सँगै तर एक्लाएक्लै
एक क्लिकमै तयारी खाना
भनेकै ठाउँमा पुग्ने भो
यो इन्टर्नेट युग
यहाँ सबै जान्ने बुझ्ने
न त ठूलालाई मान सम्मान
न त केही राम्रा उत्पादन
सबै कलाकार, सबै नौटङ्की
राम्राका त दिन साँच्चै सकिने भो ।
खोइ त मेहनत, खोइ त निरन्तरता
विचौलिया संस्कृतिले
सबै ध्वस्त भए
मेसिनलाई हामीले होइन अब
हामीलाई मेसिनले चलाउँदैछ ।
अब हामी मान्छे होइन
मेसिनधारी, नकाबधारी
सक्कली होइन नक्कली
अवगुणले भरिएका
सीप, साधना हराएका
ठिङ्ग उभिएको बुख्याँचा हुँदैछौँ ।