• ११ पुस २०८१, बिहिबार

विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

blog

विद्यार्थी बेहोस भएपछि केही दिन बन्द गरिएको महाबैको तिला माध्यमिक विद्यालय, पाद्मघाट । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ८ गते । कालीकोट जिल्लाको महाबै गाउँपालिका वडा नं. ४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।

कक्षा कोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन गराउन समस्या भएकाले बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढलेकोलाई उपचार गरिए पनि निको नभएपछि आज मंगलबारबाट विद्यालय बन्द गरेको जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले स्वास्थ्यकर्मीको सल्लाहमा केही दिन विद्यालय बन्द गर्नु भनेपछि थप जोखिम नहोस् भनेर बन्द गरिएको बताउनुभयो ।  

दशदेखि १४ वर्ष उमेर समूहका बालबालिका विद्यालय नजिकैको खोलामा पौडी खेलेर आएपछि कक्षाकोठामा बेहोस भएको अध्यक्ष सिंहको भनाइ छ । 

महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले गर्मीमा पर्याप्त पानी नपिएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको बताउनुभयो । 

शरीरमा सुख्खापनालाई यस्तो भएकाले विद्यार्थीलाई स्लाइन दिएपछि सबैलाई ठीक भइरहेको उहाँले बताउनुभयो ।