• ११ असार २०८१, मङ्गलबार

खुल्लामञ्चमा महानगरको चाबी, खुल्लामञ्च सधैँ खुल्ला हुनुपर्ने माग

blog

काठमाडौं, जेठ ९ गते । केही दिन अघिमात्र मधेश प्रदेशबाट १२ दिनसम्म पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले पिडा अभिव्यक्त गर्ने ठाउँको रूपमा खुल्ला मञ्चलाई रोजेका थिए । तर, काठमाडौं महानगरले पीडितलाई जनताको मञ्च भनेर चिनिने खुल्लामञ्च प्रवेश गर्नबाट रोक लगायो । 

सङ्घीय सरकारलाई आफ्ना पिडा, दुःख, वेदना सुनाउन आएका उनीहरूलाई काठमाडौं महानगरले रोक्यो । खुल्लामञ्च प्रवेश नपाएपछि  पीडितहरूले वीर अस्पताल अगाडि सडकमै बसेर आन्दोलन गर्न थाले । 

सानो गर्जो टार्न साहुसँग लिएको ऋणका कारण आफ्नो घरखेत नै उठिबास लागेर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको भन्दै पीडित झन् बढी चिन्तित बने  । खुल्ला मञ्च अहिले बेकामे बनिरहेको छ । २०७८ साल वैशाख १५ गतेदेखि खुल्लामञ्च खाली छ । कहिलेकाहीँ नगर प्रहरीसँगको सेटिङमा पार्किङ गरिँदै आएपनि आम सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको छ । जनताले सार्वजनिक उपयोग गर्दै आएको खुल्ला मञ्चका गेटहरूमा अहिले महानगरको ताल्चा झुण्डिएको छ । 

खुल्लामञ्चमा धेरै राजनीतिक कार्यक्रमहरू हुने गरेका थिए । काठमाडौंको मुख्य ठाउँ अन्यत्र खुल्ला क्षेत्र नभएकाले खुल्ला मञ्चलाई रोज्ने गरिएको हो । तर अहिले यो खुल्लामञ्च बन्द छ । सामाजिक अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार खुल्ला मञ्च सधैँ खुल्ला नै रहनुपर्ने भएकाले महानगरको यो कार्य खेदजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खुल्लामञ्च सधैँ सबैका लागि खुल्ला हुनुपर्छ । अहिले महानगरले प्रवेश निषेध गर्नु खेदजनक छ ।” खुल्लामञ्च देशको राजनीतिक एवम् ऐतिहासिक ठाउँ समेत भएकाले पनि यसको महत्त्व रहेको र “खुल्लामञ्च एउटा सामान्य ठाउँ होइन उहाँको तर्क छ । यो देशको राजनीतिक परिवर्तनसँग पनि जोडिएको छ । यसको ऐतिहासिक महत्त्व पनि छ ।” देशलाई गलत बाटोमा हिँड्नबाट बचाउनका लागि पनि खुल्लामञ्च उपयुक्त रहिआएको यसको अस्तित्व मास्न नहुने उहाँको तर्क छ । 

यस्तै सम्पदा अभियन्ता विद्या श्रेष्ठका अनुसार खुल्ला मञ्च धार्मिक, सांस्कृतिक महत्त्वको रहेकाले यसलाई खुल्ला नै राख्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “खुल्लामञ्च आम जनताका लागि नै खुल्ला हुनुपर्छ । राजनीतिसँगै यस ठाउँको धार्मिक र सांस्कृतिक महत्त्व पनि रहेको छ । त्यसकारण यसको महानगरले संरक्षण गर्नुपर्ने आवश्यकता छ ।”

खुल्लामञ्चलाई तीन तहको बेसमेन्ट पार्किङ बनाउनको लागि महानगरले गृहकार्य गरिरहेको भन्ने गुनासो आएकाले यसो गरिए खुल्लामञ्चको अस्तित्व मेटिने उहाँ बताउनुहुन्छ । यस्तै काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खुल्लामञ्चमा अहिले व्यवस्थापन नगरिएका कारण बन्द गरिएको हो । व्यवस्थित गरेर खुल्लामञ्चलाई खुल्ला गर्नेछौँ । ”

उहाँका अनुसार अहिले खुल्लामञ्चमा मानिस बस्न मिल्ने र डुल्न मिल्ने ठाउँ नै नरहेकाले खुल्ला गर्न नसकिएको बताउनुभयो । खुल्ला मञ्च सर्वसाधारणका लागि बन्द गर्ने कुनै योजना नरहेकाले हरियाली हुने बित्तिकै यसलाई खुल्ला गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “खुल्ला मञ्च सर्वसाधारणका लागि बन्द गर्ने कुनै योजना होइन । तर, त्यहाँ हरियाली नभएकाले अहिले खुल्ला नगरेका हौँ। अहरियाली भएपछि खुल्ला गर्नेछौ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।