• १९ वैशाख २०८१, बुधबार

धार्मिक पर्यटनका लागि कालिञ्चोक महत्त्वपूर्ण स्थल

blog

कालिन्चोक भगवती मन्दिर । तस्बिर–बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, जेठ ७ गते । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ । 

धर्मप्रति आस्थावान् भएर पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले भगवतीको दर्शन गर्न श्रद्धालु भक्तजन जाने गरेको बताइन्छ । 

समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवतीका बारेमा केही किंवदन्ती प्रचलित छ ।

परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोकबाट नै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा सात वटा भेडा भेडा हराएका थिए । त्यसपछि गोठालाहरुले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास रहेको छ । त्यसपछि कालिञ्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय मकरध्वज तामाङ बताउनु हुन्छ । 

स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक हो यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो । 

यहाँ जनैपूर्णमा, कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठुलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् । 

यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् । 

चरिकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ । क

महत्त्वपूर्ण र सुरक्षित, धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय सरकार जुरमुराउन लागेको छ । कालिञ्चोकमा केबलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । 

आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरुमा लगानी थपिँदै गएको छ । आसपासका इन्द्रावती, लापिलाङ र कालिन्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन् । हराभराका लागि वृक्षारोपण पनि गरिने गुरुयोजना बनेको छ । काठमाडौँतिरबाट त आवतजावत छँदैछ, अब दक्षिणतिर झापासमेतबाट आवतजावत गर्न प्याकेजको रूपमा व्यवस्था मिलाउन लागिएको गाउँपालिका अध्यक्ष अर्जुन सिवाकोटीले जानकारी दिनुभयो । 

केबुलकार नचढ्दा पनि कुरीबजारदेखि उकालो करिब एक घण्टा पैदल यात्रा गरी कालिन्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानका रूपमा परिचित छ । कालिन्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।

कच्ची मोटरबाटोमा जिप, गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुख्खा याममा यदाकदा मिनिबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । 

चरीकोटबाट करिब एक घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । देउरालीमा ३÷४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ ।

यातायात नचल्दा करिब पाँच घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरै वटा होटलहरु खुलिसकेका छन् । कुरीमा बास बसेपछि बिहान ५/६ बजे कालिन्चोक डाँडा उक्लिन सकिन्छ । घाम लागेपछि ठाडो उकालो चढ्न गाह्रो हुन्छ ।

हिउँदमा मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर बाटो निकै जोखिमपूर्ण छ । ढुङ्गा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि करिब तीन घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।

मन्दिर आसपासका कुरीलगायतको जग्गा सामुदायिक वन र गुठीको कसको हो भन्ने विवाद टुङ्गिन सकेको छैन । विवादबीच पनि गुठी सम्बन्धीको मालपोत कार्यालयले भरखरै चन्दा सुरक्षितका लागि पुजारीको व्यवस्था गरेको छ ।