• १३ साउन २०८१, आइतबार

कोहलपुरमा निरौलाको एकल गजल वाचन कार्यक्रम

blog

गजलकार निरौलाको एकल गजल कार्यक्रममा सहभागीहरु । तस्बिर: सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ ६ गते । कोहलपुरका शैक्षिक अभियन्ता तथा साहित्यप्रेमी स्वर्गीय टिकाराम सुवेदीको १३औँ स्मृति दिवसको अवसरमा शनिबार गजलकार देवकी निरौलाको “एकल गजल वाचन“ कार्यक्रम सम्पन्न गरिएको छ । 

गजल गायनबाट धेरैको मन जित्न सफल गजलकार निरौलाले कोहलपुरस्थित बालज्योति माविमा आयोजना गरिएको सो कार्यक्रममा दर्जन बढी गजलहरु गाउनुभयो । 

यस क्षेत्रका दुई दर्जन बढी साहित्यकार र विद्यालयका सयौँ विद्यार्थी तथा शिक्षकहरूको उपस्थितमा सम्पन्न भएको एकल गजल वाचन कार्यक्रममा गजलकार देवकी निरौलाको व्यक्तित्व तथा कृतित्वका बारेमा गजलकार  केशव निमेशले प्रकाश पार्नुभएको थियो भने स्व. टिकाराम सुवेदीको व्यक्तित्वका बारेमा साहित्यकार बद्री ढकाल हिरामनीले प्रकाश पार्नु भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले सो अवसरमा बोल्दै केही समयदेखि कोहलपुर यस क्षेत्रकै प्रमुख साहित्यिक गतिविधि र कार्यक्रमको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । 

सो अवसरमा बालज्योति माविका संस्थापक लक्ष्मी सुवेदी, चिरन्जीवी सुवेदी, प्रधानाध्यापक दामोदर पौडेल, विद्यालयका शिक्षक तथा साहित्यकार प्रकाश मरासिनी लगायत ठुलो संख्यामा साहित्यप्रेमी सर्वसाधारणको उपस्थिति रहेको थियो ।