काठमाडौँ, जेठ ६ गते । शृङ्गार गरेर हिँड्नु अधिकांश नारीको चाहना हुन्छ। गाउँ वा सहर बस्ने, घरेलु वा कामकाजी महिलाले धेरथोर शृङ्गार गरेकै हुन्छन्। पुराना पुस्ताका महिलाले शृङ्गारलाई सौभाग्यको परिपूरक मान्थे र धार्मिक संस्कारमा वर्णन गरिएका १६ शृङ्गार (टीका, गाजल, चुरा, पोते आदि) लगाउनुलाई आफ्नो दिनचर्यासँग जोड्थे। अहिलेका पुस्ताले शृङ्गारलाई व्यक्तित्व विकाससँग जोड्न थालेका छन्। उनीहरू प्राकृतिक शृङ्गारभन्दा पनि कपाल काट्नु, रङ्गाउनु, आँखीभौँ मिलाउनु, अनुहार र शरीरका रौँ हटाउनु, विभिन्न किसिमका व्रिक्रम र जेल प्रयोग गरेर छाला राम्रो बनाउनु जस्ता कृत्रिम शृङ्गारलाई अपनाउन थालेका छन्। उनीहरू सौन्दर्यका साथै छालाको स्वास्थ्यमा सचेत रहन थालेका छन्।
आधुनिक पुस्ताले बढावा दिन थालेका यस्तै अनेकन कृत्रिम शृङ्गारका लागि हजारौँ सामग्रीको अर्बौंको आयातित बजार त चलेकै छ। शृङ्गार गरिदिने व्यवसायका लागि सहरका गल्लीदेखि गाउँका टोल टोलसम्म पनि ‘ब्युटिपार्लर’ खुलेका छन्। शृङ्गारकलाको तालिम लिएर आफैँ व्यवसाय गर्ने स्वरोजगार हुनेको सङ्ख्या पनि बढेको छ। तालिम दिनका लागि सहर सहरमा शृङ्गार कला स्टुडियो खुल्ने क्रम बढ्दो छ। सहर बजारमा विवाह जस्ता विशेष समारोहमा दुलाहादुलही र उनीहरूका आफन्तीको शृङ्गार गर्ने व्यवसायले राम्रै बजार जमाउन थालेको छ। हातमा लगाउने मेहदीदेखि अनुहारको शृङ्गार र कपडा पहिराउने कार्यमा २० हजारदेखि ५० हजार रुपियाँसम्म खर्च हुनुलाई सामान्य मान्न थालिएको छ।
विगत एक दशकदेखि शृङ्गार कलाको व्यवसाय गर्दै आउनुभएकी सौन्दर्य ब्युटिपार्लर मैतीदेवीकी सञ्चालिका मुना लम्साल सहरिया महिलाले महिनामा एकाध पटक ब्युटिपार्लर धाउनुलाई जीवनचर्या बनाउने प्रवृत्ति बढेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “अहिले सहरका गल्ली गल्लीमा ब्युटिपार्लर खुलेका छन्। व्यवसाय चलाउनै गाह्रो परेको छ।” दैनिक गरिने सामान्य शृङ्गार महिलाले आफैँ गर्न सक्ने भए पनि आँखीभौँ मिलाउने, विभिन्न तरिकाले कपाल काट्ने, अनुहारलाई विशेष व्रिक्रम वा जेल प्रयोग गरेर मसाज गर्ने कामका लागि भने ब्युटिपार्लरमा आउने गरेको उहाँको भनाइ छ। उहाँको पार्लरमा शृङ्गार गर्ने तरिका सिक्नकै लागि पनि महिलाहरू पुग्ने गरेको उहाँ बताउनुहुन्छ।
चर्चित ब्युटिसियन तथा अनुभवी प्रशिक्षक कमला श्रेष्ठ सौन्दर्य र शृङ्गारप्रतिको सोचाइमा पहिलेको पुस्ता र अहिलेको पुस्तामा ठुलो परिवर्तन आएको बताउनुहुन्छ। बैङ्ककबाट सौन्दर्यको विषयमा स्नातक गरेर विगत ३५ वर्षदेखि यस पेसामा संलग्न कमला तीन हजार ब्युटिसियनका गुरुआमा पनि भइसक्नुभएको छ । उहाँका अनुसार नेपाली महिलाको विदेश आउने जाने क्रम बढेसँगै, सहरिया संस्कृति वा विदेशी संस्कृतिको प्रभाव विभिन्न सञ्चारमाध्यमार्फत घर घरमा पुगेसँगै उनीहरूको सौन्दर्यप्रतिको सोचाइ र चाहनामा परिवर्तन आएको छ। महिलाहरू आर्थिक रूपमा सक्षम हुन थालेपछि अनुहारमा देखिएका सामान्य कमी कमजोरीलाई हटाएर आत्मविश्वास बढाउन र व्यक्तित्वमा निखार ल्याउन पनि ब्युटिपार्लर धाउने क्रम बढेको उहाँको भनाइ छ। पाँच वर्षअघि छ महिने तालिम लिएर ललितपुरमा रुपश्री ब्युटिपार्लर सञ्चालन गर्दै आएकी सन्दिला अवाले सौन्दर्यप्रतिको बढ्दो रुचिका कारण यो व्यवसाय फस्टाएको पनि बताउनुहुन्छ । आफूलाई राम्रो बनाउने चाहनाले नै आफूलाई व्यवसायी बनाएको उहाँको भनाइ छ ।
ब्युटी क्लब भाटभटेनीकी सञ्चालिका सान्द्रा पुन सौन्दर्य बजारमा प्रतिस्पर्धा बढ्दो व्रmममा रहेको बताउनुहुन्छ। उहाँ जोसुकैले पनि सामान्य तालिम लिएपछि बोर्ड झुन्ड्याएर ब्युटिपार्लर खोल्ने क्रम बढेकाले पनि सहरमा महँगो सटर भाडा तिरेर व्यवसाय धान्न धौ धौ परेको गुनासो गर्नुहुन्छ।
सौन्दर्यकर्मीका अनुसार अहिले १२/१३ वर्षको उमेरदेखि नै केटीहरू ब्युटिपार्लर धाउने गर्छन्। सुरुमा आँखीभौँ मिलाउन ब्युटिपार्लर छिर्नेहरू उमेर सँगसँगै अन्य तरिकाले पनि आफूलाई राम्री बनाउन खर्च गर्न थाल्ने दरबारमार्गस्थित लुजा ब्युटिपार्लरकी सञ्चालिका सपना ताम्राकार बताउनुहुन्छ। सात वर्षदेखि आफू यस पेसामा लागे पनि अहिले भने ग्राहक पाउनै मुस्किल हुन थालेको बताउनुहुन्छ। मानव सौन्दर्य मानव स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा जोडिएकाले यसलाई जथाभाबी चल्न दिने, कहीँ कतैबाट पनि निगरानी नगरिने अहिलेको अवस्था भने चिन्ताजनक रहेको स्वयं सौन्दर्यविद्हरू बताउनुहुन्छ। यो स्वरोजगारको क्षेत्र भए पनि यसको मापदण्ड तोक्न ढिलाइ गर्न नहुने उहाँहरूको भनाइ छ।