चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २५ गते । पछिल्लो समय परम्परागत रोटेपिङ र लिङ्गेपिङ थाप्ने चलन हराउँदै गएको छ । विशेष गरी दसैँ र तिहार पर्वको समयमा गाउँघरमा खेलिने रोटेपिङ र लिङ्गेपिङ हराउन थालेको हो । विगतमा विभिन्न स्थानमा अत्यधिक रूपमा दसैँ र तिहारको समयमा रोटेपिङ (काठको पिङ) र लिङ्गेपिङ (बाँसको प्रयोगबाट निर्माण गरिने पिङ) थापेर पिङ खेल्ने गरिन्थ्यो ।
नयाँ पुस्तामा पिङ थाप्ने अर्थात् निर्माण गर्ने सिप नहुँदा पिङ थाप्ने चलन हराउँदै गएको स्थानीय बताउँछन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका एक अग्रज रणबहादुर विष्टले पछिल्लो पाँच/सात वर्षयता गाउँघरमा परम्परागत पिङ देखिन छाडेको बताउनुभयो । साब्लाखुका वर्तमान वडा सदस्यसमेत रहनुभएका विष्टले काठको प्रयोगबाट निर्माण गरिने रोटेपिङ गाउँघरमा थाप्न छोडिएको धेरै समय भएको बताउनुभयो । उहाँका अनुसार चार/पाँच वर्षअघिसम्म दसैँ र तिहारको समयमा गाउँघरमा लिङ्गेपिङ थापेर खेल्ने गरिएकोमा अहिले लिङ्गेपिङ पनि थाप्न छोडिएको छ । पछिल्लो पुस्तामा बाबियोको डोरी बाट्ने सिपको अभाव रहेको साथै पिङ थाप्नलाई कसैले चासो नदिने हुँदा परम्परागत चलन हराउँदै गएको साब्लाखुका अर्का अग्रज भवानी रिजाल बताउनुहुन्छ । वर्षको एक दिन भुईं छाड्नु पर्छ भन्ने मान्यता अनुसार अहिले पनि गाउँघरमा विभिन्न उमेर समूहका नागरिकमा पिङ खेल्ने रुचि भने रहने गरेको रिजालको भनाइ छ । रुचि भएर पनि पिङ थाप्ने चलन हराउँदै गएकाले गाउँघरमा पिङ खेल्न पाइन छोडेको उहाँले बताउनुभयो ।
पछिल्लो समय इच्छा हुनेले विद्युत्बाट चल्ने आधुनिक खालका पिङ खेल्न स्थानीय मेला महोत्सव जाने गरेका स्थानीय सञ्जय लिम्बूले बताउनुभयो । सहर बजार र समय समयमा लाग्ने मेला, महोत्सवका अवसरमा राखिने आधुनिक पिङका कारण पनि परम्परागत रोटे र लिङ्गेपिङ थाप्ने चलन हराउँदै गएको कतिपय स्थानीय बताउँछन् ।
पाँचथरको याङ्वाराक गाउँपालिकास्थित श्री कम्पु–श्रीजङ्गी निसान संरक्षण समितिका सचिव महेन्द्र सेलिङ परम्परागत संस्कार वा चलन हराउँदै जानु चिन्ताको विषय भएको हो भन्नुहुन्छ । सचिव सेलिङले यस वर्ष भने दसैँको महानवमीको अवसरमा थर्पुमा लागेको निसान मेलामा रोटेपिङ थापिएको बताउनुभयो । निसान मेलाका अवसरमा थापेको रोटेपिङ खेल्न सर्वसाधारणको भिड लागेको पनि उहाँले बताउनुभयो । पुरानो चलन तथा संस्कार संस्कृतिको संरक्षण गर्नु पर्छ भन्नेतर्फ विस्तारै समाजका अगुवाले चासो भने दिन थालेका उहाँको भनाइ छ ।