काठमाडौँ, असोज २५ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले र्याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न रोक लगाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना जारी गर्नुहुँदै कुनै पनि समूह वा सङ्गठनलाई र्याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न रोक लगाउनुभएको हो ।
विभिन्न समूहहरुबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचनामा थप लेखिएको छ, ‘‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’’ साथै पूर्वस्वीकृति बिना कुनै पनि कार्यक्रम नगर्न पनि जिल्ला प्रशासन कार्यालयले भनेको छ ।