• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सामेल हुँदै

blog

पार्टीबाट मन्त्री हुनेको नाम मुख्यमन्त्री शाहलाई बुझाएपछि माओवादी केन्द्रका नेता खगराज भट्ट सञ्चारकर्मीसँग । तस्विर– भवानी ऐर ।

भवानी ऐर 

गोदावरी (कैलाली), जेठ ५ गते । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ । प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो । 

पार्टी सरकारमा सहभागी हुन लागेको जानकारी भन्दै नेकपा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्वमन्त्री खगराज भट्टले मन्त्री हुनेको नाम टुङ्गो लागिसकेको बताउनुभयो । उहाँकाअनुसार माओवादी केन्द्रले पाउने सामाजिक विकास मन्त्रीमा अछामका झपडबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कैलालीका रमेशसिंह धामी जानु हुनेछ । 

यस्तै, पार्टीले राज्यमन्त्रीमा डडेल्धुराकी गीतादेवी माललाई सरकारमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । पार्टीबाट मन्त्रीमा सामेल हुनेहरूको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको भन्दै उहाँले नवनियुक्त मन्त्रीहरूको आज साँझ नै शपथ हुने जानकारी दिनुभयो । 

चुनाव लगत्तै प्रदेश सभाका बहुमत सदस्य आफूसँग रहेको दाबी पेस गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेको एक महिनामै विश्वासको मत नपाएर ढल्नुभयो । अनि संवैधानिक प्रावधानअनुसार प्रदेश प्रमुखले सबैभन्दा ठुलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

प्रदेश सभाको ठुलो दलको हैसियतमा कांग्रेसका कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ नेतृत्वको सरकारले आज एक सय दिन पुरा गरेको छ ।