• २६ वैशाख २०८१, बुधबार

नयाँ जहाज किन्दै नेवानि

blog

काठमाडौँ, जेठ ५ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ । पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ । 

संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत समेत आम्दानी बढाउन नयाँ जहाज खरिदको प्रव्रिmया अघि बढाएको छ । 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको छ । त्यसअघि असारमा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार रुपियाँ र पुसमा ३३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको थियो । निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार जहाज खरिदका लागि लिएको ऋणको सावाँ र ब्याजमा मात्रै पछिल्लो एक वर्षमा करिब तीन अर्ब रुपियाँ भुक्तानी गरेको निगमले थप आम्दानी बढाएर ऋण चुक्ता गर्न प्रादेशिक रूपमा हवाई कनेक्टिभिटी बढाउने योजनासहित जहाज थप्न लागेको हो । 

घिमिरेले भन्नुभयो, “भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही जेठ २९ देखि काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ सेक्टरमा साताको एक उडान गर्ने गरी टिकट बुकिङ खुला गरिसकेका छौँ । भैरहवाबाट दिल्ली उडानको अन्तिम अनुमति लिने प्रक्रिया जारी छ ।” 

काठमाडौँबाट सिङ्गापुर–अस्ट्रेलिया, दक्षिण कोरिया उडानका लागि समेत प्रव्रिmया चलिरहेको जनाउँदै उहाँले आफ्नै आन्तरिक स्रोतबाट सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा र दुर्गम क्षेत्रमा उडान विस्तार गर्न तीन वटा जहाज थप्ने कार्य योजनासमेत अघि बढेको बताउनुभयो । निगमले अस्ट्रेलिया उडानको प्रव्रिmयासमेत अन्तिम चरणमा पुगेको जनाएको छ । अस्ट्रेलियाको नियमन निकायबाट अवतरणलगायतका आवश्यक अनुमति आएसँगै निगमले काठमाडौँ–सिङ्गापुर हुँदै सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन हुने छ । निगमले अस्ट्रेलिया उडानका लागि आवश्यक पर्ने भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवाका लागि टेन्डरसमेत आह्वान गरिसकेको छ । 

सन् २०१९ मा क्यानडामा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौताअनुसार नेपालले अस्ट्रेलियामा दैनिक एक उडान गर्न सक्नेछ । हाललाई वाइडबडी एयरबस–३३० बाट सातामा तीन वटा उडान गर्ने तयारी गरिरहेको निगमले विभिन्न देशमा भइरहेका उडान अनुभवका आधारमा थप उडान विस्तार गर्दै जाने योजना बनाएको छ । निगमले कोरिया उडानको प्रव्रिmयासमेत सँगसँगै अगाडि बढिरहेको जनाएको छ । 

सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज खरिदपछि व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्दा निगमको आम्दानीमा थप सुधारसँगै प्रतिस्पर्धात्मक रूपमा खुम्चिँदो आन्तरिक बजार विस्तारमा सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले थप जहाज खरिदका लागि निगमको सञ्चालक समितिको बैठकले गठन गरेको नौ सदस्यीय उपसमितिले काम गरिरहेको बताउनुभयो ।

हाल आन्तरिकतर्फ निगमले दुर्गम क्षेत्रमा उडान भर्ने ‘स्टोल’ (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) विमान खरिदमार्फत दुर्गम क्षेत्रका जनताको माग सम्बोधन हुने र हवाई सञ्जालसँगै आम्दानीमा समेत थप सुधार हुने सहायक प्रवक्ता घिमिरेको भनाइ छ । 

हाल दुई वटा विमानमार्फत आन्तरिक उडान गरिरहेको निगमले सातामा १५ वटा गन्तव्यमा दुईतर्फी ५४ वटा उडान गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगञ्ज विमानस्थल बेस भएर उडान गर्दै आएको निगमले जहाजको अभावकै कारण दाङ, भोजपुर, ताप्लेजुङलगायतका गन्तव्यमा माग हुँदाहुँदै पनि उडान सङ्ख्या घटाएको छ ।

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।