• २ असार २०८१, आइतबार

बागमतीमा पुल बनेपछि सहज

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ ४ गते । सर्लाहीको महिनाथपुर र रौतहटको धरमपुर सिङ्गारमन गाउँलाई जोड्ने गरी बागमती खोलामा पक्की पुल बनेदेखि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भइरहेको छ । 

डुङ्गामा चढेर खोला वारिपारि गर्नुपर्ने ठाउँमा साढे सात सय मिटर लामो पक्की पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई खोला वारिपारि गर्न सहज भएको हो ।

सर्लाहीको धनकौल गाउँपालिका–४, महिनाथपुर र रौतहटको गढीमाई नगरपालिका–६, धरमपुर गाउँलाई जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट अहिले खेती किसानीका लागि वारपार गर्नुपर्ने किसानसँगै टायरगाढा, साइकल, मोटरसाइकल र अन्य सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् ।

लामो क्षेत्रफलमा फिँजिएर खोला बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारिपारि रहेको खेतबारीमा काम गर्नका लागि जान तथा अन्य प्रयोजनका लागि खोला तर्न सहज भएको धनकौल गाउँपालिकास्थित छटौल बखरीका रामदयाल साहले बताउनुभयो । पहिले खेतीपातीका लागि डुङ्गालाई वार्षिक अन्नबाली बुझाएर आवतजावत गर्नुपर्दा निकै समस्या हुन्थ्यो तर अहिले त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ । 

कुल एक करोड २५ लाख रुपियाँ लागतमा पक्की पुल निर्माण भएको रौतहटको गढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामसिंहासन यादवले जानकारी दिनुभयो । सर्लाहीको बलरा नगरपालिका र रौतहटको यमुनामाई गाउँपालिका दुवैतर्फ घर रहेका राघु यादवले अति आवश्यक स्थानमा पुल बनेपछि स्थानीय बासिन्दालाई आवागमनमा अत्यन्त सहज भएको बताउनुभयो ।

सर्लाहीका प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले खोला बग्ने स्थानमा पुल बनेपछि स्थानीय बासिन्दालाई निकै राहत मिलेको बताउनुभयो । यो स्थानमा पक्की पुल बने पनि सर्लाही र रौतहटलाई जोड्ने अन्य विभिन्न स्थानमा लामो समयदेखि पुल निर्माण कार्य अलपत्र रहेको छ ।