• ३१ वैशाख २०८२, बुधबार

मुसहरका पाँच घर पक्की बन्ने

blog

जनार्जन खत्री

सर्लाही, जेठ ३ गते । सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका-७, दुलवा मुसहर टोलका पाँच घर मुसहरका लागि पक्की घर निर्माण हुने भएको छ । मधेश प्रदेश सभाका सदस्य कौशलकिशोर रायको निर्वाचन क्षेत्र विकास कोषको रकमबाट स्थानीय अतिविपन्न पाँच घर मुसहरका लागि पक्की घर निर्माण गरिने भएको हो। 

ती घरको बुधबार प्रदेश सभा सदस्य राय आफैंले शिलान्यास गर्नुभएको छ । पाँच परिवार मुसहरका लागि दुई वटा कोठा, शौचालय, किचेनसहित पक्की घर निर्माण गर्न कूल ४० लाख रुपियाँ बजेट विनियोजन गरिएको प्रदेश सभा सदस्य रायले जानकारी दिनुभयो । उहाँका अनुसार आठ लाख रुपियाँ लागतमा एउटा घर निर्माण गरिसक्ने लक्ष्य छ । 

तराई मधेशको अत्यन्तै पिछडिएको मुसहरको दयनिय अवस्था देखेर पक्की घर निर्माणका लागि बजेट विनियोजन गरेको प्रदेश सभा सदस्य रायको भनाइ छ । यस क्षेत्रमा अधिकांश बजेट माटो ग्राभेलमा खर्च गर्ने परिपाटी रहेपनि आफूले सो परिपाटीलाई निरुत्साहित गर्दै शिक्षा, कृषिजस्ता आम नागरिक प्रत्येक लाभान्वित हुने क्षेत्रमा बजेट विनियोजन गरेको प्रदेश सभा सदस्य यादवले बताउनुभएको छ । 

फुसको कच्ची घरमा बस्दै आएका दुलवा टोलका पाँच घर मुसहर परिवार पक्की घर निर्माण हुने भएपछि खुसीले दङ्ग छन् । घर शिलान्यास कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव, वडा नं. ७ का वडाध्यक्ष निरस राउत, वडा नं. ८ का वडाध्यक्ष जवाहार लाल रायलगायतको उपस्थिति रहेको थियो ।