• २ असार २०८१, आइतबार

खानेपानी संस्थान, राजविराजमा एक करोड भन्दा बढी रकम बक्यौता

blog

देवराम प्रसाद यादव

सप्तरी, जेठ ३ गते । नेपाल खानेपानी संस्थान, राजविराज शाखाका ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा बक्यौता रकम एक करोड ४७ लाख २५ हजार रुपियाँ पुगेको छ । 

खानेपानी संस्थान राजविराज कार्यालयका प्रमुख रामकुमार श्रेष्ठकाअनुसार उक्त कार्यालयका एक हजार पाँच सय जना ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा उक्त बक्यौता रकम पुगेको हो ।

लामो समयदेखि संस्थानबाट वितरित खानेपानी उपयोग गरी हालसम्म खानेपानीको महसुल नतिर्नेमा संघसंस्था र केही सरकारी कार्यालय पनि रहेकाे कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयाे।

उहाँले २०५६ साल अघिदेखि हालसम्म खानेपानीको सेवा लिँदै आएका छन् तर खानेपानीको बिल तिरेका छैनन्, एकै जनाको पचास हजारदेखि  एक लाख रुपियाँभन्दा बढी बक्यौता छ । लामो समयदेखि बक्यौता तिर्न ताकेता गरी पत्र पठाउँदा समेत त्यस्ता ग्राहकहरु बिल तिर्न आउँदैनन् । 

कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको महसुल नतिर्ने ग्राहकहरुलाई कानुनी प्रक्रियाअनुसार धाराको लाइन काटिदिने गरेको समेत बताउनुभयो । 

केही सेवाग्राही बक्यौता रकम किस्ताबन्दीमासमेत तिर्ने गरेको बताउँदै उहाँले पटकपटकसम्म बक्यौता तिर्न खानेपानी संस्थानले पत्राचार गर्दा बेवास्ता गर्नेलाई अब कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिनुभयो ।

आगामी आर्थिक वर्षदेखि बक्यौता नतिर्ने ग्राहकहरुको धाराको लाइन काटिदिने पत्राचार गरिएको र जनशक्ति अभावले तत्काल लाइन काट्ने काम गर्न नसकिएको कार्यालय प्रमुख श्रेष्ठले दाबी गर्नुभयो ।