• १३ साउन २०८१, आइतबार

साकार भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

blog

धौलागिरि हिमालको ७ हजार २३० मिटर उचाईमा रहेको तेस्रो क्याम्प पुग्नुभएका कार्लोस सोरिया । तस्विर– गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ३ गते । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३औँ पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका -४ मुदीस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालिको सपना पनि अधुरो भयो । 

सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एक महिना अघि आधार शिविर पुग्नुभएको थियो । आधार शिविरमा रोकिनुभएका कार्लोस मौसममा सुधार आएसँगै केही दिन अघि ७ हजार दुई सय मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुग्नुभएको थियो । 

‘‘कार्लोस सोरिया तेस्रो क्याम्पबाट शिखर चढ्दै हुनुहुन्थ्यो, अचानक उहाँको खुट्टा मर्कियो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले भन्नुभयो,‘‘ कार्लोसको धौलागिरि आरोहण गर्ने १३औँ पटकको प्रयास सफल हुनसकेन । उहाँ आधार शिविर ओर्लिँदै हुनुहुन्छ । त्यहाँबाट हेलिकप्टरबाट काठमाण्डौं ल्याउने तयारी गरेका छौँ ।’’ 

गत वर्ष १२ औँ पटकको प्रयासमा पनि कार्लोस ७ हजार मिटरको उचाइमा पुगेर फर्किनुभएको थियो । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशक यता १३औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेन । 

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस यसपटक फेरी धौलागिरि आरोहण गर्न लाग्नुभएको थियो । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गर्नुभएको थियो । 

सेभेन समिटका तर्फबाट यो सिजनमा २५ जना विदेशी आरोहीले धौलागिरिको आरोहण गर्न लागेका छन् । मंगलबार मात्र दुई जना पोल्याण्डका आरोहीले धौलागिरिको सफल आरोहण गरेका छन् । 

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको  व्यवस्थापनमा आरोहीहरू धौलागिरि आरोहणका लागि पुगेका छन् । उनीहरू ७ हजार दुई सय तीस मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुगेका छन् । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरूको अनुभव छ ।  यस सिजनमा २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले  आरोहणको  अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।