• ९ मंसिर २०८१, आइतबार

निःशुल्क पुस्तकले बढे विद्यार्थी

blog

मीना कँडेल

कावासोती, जेठ २ गते । केही वर्षयता नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको पुस्तक निःशुल्क हुँदा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ  । 

नवलपुरमा निःशुल्क पुस्तक र पोसाकका कारण करिब २५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा बढेको देखिन्छ । सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि यसले व्यापकता पाउँदै गएको हो । 

त्रिभुवन बाल मावि ढोकीका प्रधानाध्यापक दीपक घिमिरेले भन्नुभयो, “अहिलेको अवस्थामा व्यापार, व्यवसाय सबै ठप्प हुँदा धेरै अभिभावकको आयस्रोत पनि बन्द हुन थालेको छ । मासिक महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन सक्ने सम्भावना छैन । त्यसैले सामुदायिक विद्यालयको खोजी बढेको सामुदायिक विद्यालयहरूको भनाइ छ ।” गत वर्ष एक हजार एक सय विद्यार्थी रहेको त्रिभुवन बाल माविमा अहिले दुई सय विद्यार्थी थपिएका छन् । 

नवदुर्गा आधारभूत विद्यालयका प्रध्यानाध्यापक टीकाराम डुम्रेले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारले पुस्तक र विद्यालय पोसाक निःशुल्क दिन थालेपछि विद्यार्थीको चाप बढ्न थालेको बताउनुभयो ।  सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई नेपाली माध्यमको पुस्तकको रकम उपलब्ध गराए पनि त्यो रकम पर्याप्त हुँदैनथ्यो ।

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने हुँदा अपुग रकम नगरपालिकाले उपलब्ध गराउने गरेको मध्यबिन्दु–९, लोक सेवा माविका प्रधानाध्यापक राजु भण्डारी बताउनुहुन्छ ।

अङ्ग्रेजी माध्यमका पुस्तकका लागि कावासोती नगरपालिकाले एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका पुस्तक निःशुल्क उपलब्ध गराउने गरेको शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

 नवलपुर जिल्लामा ३०८ वटा सामुदायिक विद्यालय छन् । गत वर्ष सामुदायिक विद्यालयमा करिब ६५ हजार विद्यार्र्थीले अध्ययन गरेका थिए । यो वर्ष जिल्लाको पहाडी भेगमा सामुदायिक विद्यालयमा विद्यार्थी खासै नबढे पनि सुगम भेगमा भने बढेको जिल्ला शिक्षा समन्वय एकाइ नवलपुरले जनाएको छ ।