• ८ मंसिर २०८१, शनिबार

भ्रष्टाचारका अरु फायल पनि खुल्छन् : मन्त्री गुरुङ

blog

फाइल फाेटाे

वसन्त पराजुली

भरतपुर, वैशाख ३० गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा कसैको मुख नहेर्ने बताउनुभएको छ । 

नेपालीलाई भुटानी नागरिक बनाउने प्रकरणमा संलग्न जोसुकै भए पनि उन्मुक्ति नपाउने बताउनुहुँदै उहाँले सुशासन कायम गर्ने सरकारको पहिलो दायित्व भएको धारणा राख्नुभएको हो। 

भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले भ्रष्टाचारीको कुनै धर्म, जात र पार्टी नहुने भएकाले जतिसुकै ठूला नेता परे पनि कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गर्नुभयो । 

“अहिलेको घटना सामान्य घटना हुँदै, होइन । यस्तो अवस्थामा को पर्दैछ, को पर्दैन भनेर हेर्ने बेला पनि होइन ।” उहाँले स्पष्ट शब्दमा भन्नुभयो,  “जो सुकै परे पनि सरकार उनीहरूलाई कारबाहीका दायरामा ल्याउन सक्षम छ । अहिलेको सरकारको यात्रा नै सुशासन हो । भ्रष्टाचारबाट जनता आत्तिएका छन् । जनतालाई अहिले आहात पुग्ने हैन राहत पुग्ने काम गर्नुपर्छ ।” 

उहाँले अहिले नेपालीलाई भुटानी नागरिक बनाउने कार्य महापराध भएको बताउनुहुँदै सरकारले अझै पनि यस्ता अन्य घटनाहरूको पनि अनुसन्धान सुरु गर्ने जानकारी दिनुभयो । 

“हर हालतमा सुशासन कायम गछौँ । कसैको मुख हेर्दैनौँ । जति नै दबाब खेपेर पनि देशमा सुशासन कायम गर्न सरकार सक्षम छ ।” उहाँले भन्नुभयो । 

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला मात्रै भएको बताउनुहुँदै मन्त्री गुरुङले गठबन्धन अझै बलियो भएर जाने बताउनुहुँदै भन्नुभयो “एउटा सुशासन स्थापना गर्न लागिपरेको सरकारविरुद्धमा फेरि अर्को गठबन्धन बन्छ भन्ने मलाई लाग्दैन । केही आशङ्काहरू होलान् तथापि त्यस्तो हुन सक्दैन ।”  

नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका गुरुङले भ्रष्टाचारमा संलग्न भएका आफ्नै पार्टीका नेताहरूका बारेमा पनि निष्पक्ष र स्वतन्त्र तरिकाले छानबिन हुनुपर्छ भन्ने मान्यतामा कांग्रेसमा रहेको स्पष्ट पार्नुभयो । 

यसैबीच, मन्त्री गुरुङले नेपाल शिक्षक सङ्घको स्थापनाका अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा पनि सहभागिता जनाउनुभयो । 

कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष एवं महासमिति सदस्य शङ्कर कँडेलको १३ औँ पुण्य तिथिका अवसरमा आइतबार भरतपुरमा आयोजना हुन लागेको शोक सभामा सहभागी हुन मन्त्री गुरुङ चितवन आउनुभएको हो ।