• ६ वैशाख २०८३, आइतबार

बेनी आक्रमणको ‘युद्ध पोल’ फिर्ता हुने

blog

तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई २०६४ मा बेनी आउँदा पोल अवलोकन गर्नुहुँदै ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख २७ गते । तत्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला  गोली लागेर छियाछिया बनेको बिजुलीको पोल बेनी फिर्ता हुने भएको छ ।  

२०६० चैत ७ गते माओवादीका जनसेना र शाही नेपाली सेनाबीच भएको भीषण भिडन्तका क्रममा दुवै तर्फबाट गोली लागेर सयौँ प्वाल परेको बिजुलीको पोल ललितपुरस्थित मदन पुरस्कार पुस्तकालयबाट बेनी ल्याइने भएको हो ।

बेनी बजारमा रहेको सेनाको कालीप्रसाद गण छेउमा रहेको उक्त पोल दोहोरो भिडन्तका क्रममा छियाछिया परेको थियो ।  

बेनी आक्रमणको निशानीका रूपमा रहेको उक्त पोललाई म्याग्दीवासीले युद्ध पोलका रूपमा लिने गर्दछन् । युद्धको निशानीका रूपमा रहेको उक्त पोललाई बेनीमै नै फिर्ता ल्याउन यसअघि विभिन्न निकायहरूले पहल गर्दै आएका थिए । 

पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले मंगलबार जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित युद्धको चिनारी बिजुलीको पोल फिर्ता दिने पत्र प्राप्त भएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो । 

बेनी ल्याइने उक्त पोललाई बेनीको विरेन्द्रचोकमा निर्माण गरिने शान्तिपार्क संरक्षण गरेर राखिने प्रमुख थापाले बताउनुभयो ।

‘‘जिससले उक्त पोललाई फिर्ता दिन अनुरोधसहित पुस्तकालयका अध्यक्ष दीक्षितलाई भेटी अनुरोध गरेका थियौँ,’’ प्रमुख थापाले भन्नुभयो, ‘‘हाम्रो अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिँदै पोल फिर्ता दिने पत्र पठाउनुभएको छ । पोललाई शान्तिपार्कमा संरक्षण गरेर राख्छौँ ।’’

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पोललाई बेनी ल्याउने जनप्रतिनिधिको प्रयासले सार्थकता पाउन लागेको भन्दै उक्त पोललाई युद्ध चिनारीका रूपमा संरक्षण गरेर राख्ने योजना नगरपालिकाले बनाएको  बताउनुभयो ।