• १३ असोज २०८१, आइतबार

रातो माछाले प्रख्यात ‘बराहपोखरी’ मा पानी घट्दै

blog

रातो माछाले प्रख्यात खोटाङको बराहपोखरी । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई 

खोटाङ, वैशाख २३ गते । खोटाङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल बराहपोखरीमा निरन्तर पानी घट्न थालेको छ । २०७२ को भुकम्प पश्चात पोखरीमा निरन्तर पानी घट्न थालेको स्थानीयले बताएका छन् । हालसम्म पोखरीको चार भागको तीन भाग पानी घटिसकेको छ ।  

दुर्लभ रातो माछाले प्रख्यात बराहपोखरी करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाइमा फैलिएको छ । सधैं स्वच्छ पानीले भरिभराउ रहने निलो रङ्गको देखिने पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा छ । पोखरीलाई माथिका डाँडाबाट हेर्दा झनै आकर्षक देखिन्छ । 

दुर्लभ रातो माछा हेर्न र दर्शन गर्न दैनिक पर्यटकहरु पोखरीमा पुग्नेगरेका छन् । पछिल्लो समय पानीको आकार निरन्तर घट्दै गएकाले पोखरी सुक्ने होकी भन्ने चिन्ता लाग्न थालेको स्थानीय बताउँछन् । 

नेपाल सरकारको सय गन्तव्य सूचीमा समावेश गरिएको उक्त पोखरीकै नामबाट गाउँ पालिकाको नामाकरण गरिएको छ । बराहपोखरी गाउँपालिका –१ मा पोखरी रहेको छ । मुहान र निकास हुने ठाउँ नदेखिए पनि सधै टम्म पानी हुने विशेषता बोकेको बराहपोखरीमा शंखेश्वर महादेवको दर्शन गर्न र घुमफिर गर्न खोटाङ जिल्लाका विभिन्न ठाउँ, छिमेकी जिल्लाहरु उदयपुर, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, संखुवासभालगायत देशका अन्य जिल्लासँगै बाहिर देशका पर्यटकहरु आउनेगरेका छन् । 

बराहपोखरीमा रामनवमी, शिवरात्रि, हरिबोधिनी एकादशी, बालाचतुर्दशी, माघे सङ्क्रान्तिका दिन मेला लाग्ने तथा सतबीज छर्ने चलन छ । बच्चा नहुने दम्पतीले बराहपोखरीको दर्शन गर्दा बच्चा प्राप्त हुने जनविश्वास रहेको स्थानीय डिल्लीराम गिरीले बताउनुभयो । बिशेष मेला लाग्ने समयमा शान्तिका लागि परेवा उडाउनेहरुको पनि भीड लाग्ने गर्छ । १९९० सालको भुकम्पले केही तल भासिएको पोखरी २०७२ को भुकम्पले छेउछेउमा चिरा बनाएको उहाँको भनाइ छ । 

४ दशमलव ४६ हेक्टरमा फैलिएको बराहपोखरीमा २०४१ सालमा पोखरी माथिबाट रहेको कोकाखोला बाढी आएर थेरै भूभाग पुरिएको स्थानीय धु्रव गिरीले बताउनुभयो । बीचमा बाढी पस्दा पोखरी झण्डै दुई भागमा बाडिएको उहाँको भनाइ छ । हाल पोखरीमा पुरिएको बालुवा निकालिएको छ । तर हाल पोखरीको पानी सुक्दैजाँदा बगरको मात्रा बढ्दै गएको देखिन्छ । प्राय पोखरी माथिरहेको कोकाखोलाको पानी तथा भलले पोखरी भरिनेगरेकोमा पछिल्लो समय पोखरीतर्फ आफै बाँध लागेर खोला अन्य स्थानबाट बग्न थालेको छ ।  

दुर्लभ रातो माछा पाइने बराहपोखरीमा पछिल्लो समय माछा पनि घट्दै गएको छ । नदीबाट बेलाबेला जलहाँस आएर माछा खानेगरेको वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । ‘नदीबाट जलहाँस आएर माछा खाइदिने गरेको छ, एउटा हाँसले एकै पटकमा ३० वटासम्म माछा खाने रहेछ ।’