दूरसञ्चार सेवा विस्तारले इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दा अनलाइनमा आधारित सामग्रीको प्रयोग व्यापक बनेको छ । सूचना, मनोरञ्जन, शिक्षा र कार्यालयको काममा समेत मोबाइल सेवाको प्रयोग अहिले सामान्य लाग्छ । खासगरी सूचना ग्रहणको परम्परागत शैलीलाई मोबाइलले अकल्पनीय परिवर्तन गराइदिएको छ ।
समाचारका लागि दैनिक पत्रिकाको प्रतीक्षा गर्नुपर्ने अथवा रेडियो, टेलिभिजनमा विभिन्न समयमा आउने समाचारमा निर्भर रहनुपर्ने बाध्यतालाई मोबाइलले एकदमै सजिलो विकल्प दिएको छ । आफ्नो अनुकूलताअनुसार जुनसुकै समयमा रुचिका समाचार हेर्न, पढ्न र सुन्न मिल्ने सूचना प्राप्तिका सबै विशेषतायुक्त सुविधा मोबाइलले प्रदान गरिदिएको छ, जसको परिणाम आमसञ्चार माध्यमका रूपमा अनलाइन सञ्चारमाध्यम पछिल्लो समय विश्वभर नै जबर्जस्त स्थापित छ ।
विश्वभर नै सूचना प्राप्तिको सबैभन्दा छिटो र सजिलो माध्यमका रूपमा अनलाइन सञ्चार माध्यमको प्रयोग फैलँदो छ । यसले परम्परागत मानिएका सञ्चार माध्यमलाई ठूलो चुनौती दिएको छ । परम्परागत सञ्चार माध्यमको सञ्चालन तथा शैलीका कारण सिर्जना हुने अधिक लागतको तुलनामा अनलाइन सञ्चार माध्यमको सञ्चालन लागत कम हुने भएकाले छोटो समयमै विश्वभर यसको सङ्ख्यामा अत्यधिक नै वृद्धि भइरहेको छ ।
खासगरी नेपालजस्ता विकासोन्मुख मुलुकमा अनलाइन सञ्चार माध्यममा आएको सङ्ख्यात्मक वृद्धिलाई गुणात्मक बनाउन नसक्दा यसको विश्वसनीयतामा भने सुरुदेखिकै प्रश्न बाँकी छ । परम्परागत सञ्चार माध्यमले कायम राखेको विश्वसनीयताकै कारण अनलाइन सञ्चारमाध्यमको बाहुल्यताबीच पनि आफ्नो अस्तित्व भने सुरक्षित नै गरिरहेको देखिन्छ । यद्यपि सूचना प्रयोगको शैली बदलिँदै जाँदा परम्परागत सञ्चार माध्यमलाई आफ्नो अस्तित्व सुरक्षित गरिराख्ने चुनौती भने हरसमय कायमै छ ।
गोरखापत्रको भर्चुअल रूप
गोरखापत्र भन्नासाथ आमनेपाली पाठकबीच पत्रिकाको तस्बिर सम्झनामा आइहाल्छ । अझै पनि कतिपयले अखबारको समानार्थीका रूपमा पनि गोरखापत्रलाई बुझेको पाइन्छ । वर्षौंदेखि निरन्तर प्रकाशित भइरहेको हिसाबले गोरखापत्रको नामसँगै पत्रिकाको भौतिक आकारको सम्झना हुनु सामान्य हो तर गोरखापत्र अब केवल पत्रिकामा मात्र सीमित छैन । इन्टरनेट प्रयोगले सिर्जना गरेको सम्भावनालाई पछ्याउँदै गोरखापत्रले पनि आफूलाई अनलाइनमा उपलब्ध गराएको छ, त्यो पनि नेपालमा इन्टरनेटको सुरुवाती समयदेखि नै । गोरखापत्रले सञ्चालनमा ल्याएको अनलाइन नेपालमा सञ्चालनमा आएका अनलाइन सञ्चारमाध्यमको सुरुवाती पङ्क्तिमा नै पर्छ । जसरी जेठो अखबारका रूपमा गोरखापत्रले आफ्नो इतिहासलाई निरन्तरता दिइरहेको छ, त्यसरी नै सुरुवाती समयका अनलाइन सञ्चारमाध्यमका रूपमा पनि यसले आफूलाई झन् परिष्कृत गर्दै निरन्तर राखिरहेको छ ।
गोरखापत्रको डिजिटल यात्रा अलि फरक अनि रोचक छ । गोरखापत्र संस्थानअन्तर्गत प्रकाशन हुने सामग्रीलाई २०५३ साल फागुन १२ गते आइतबार पहिलो पटक अनलाइनमा प्रकाशन गरिएको थियो तर त्यतिबेला गोरखापत्रको आफ्नै डोमेन (वेबसाइटको नाम)मा नभई मर्कन्टाइल कम्युनिकेसनमार्फत इन्टरनेटमा राखिएको थियो । नेपालमा पहिलो पटक इन्टरनेटको सुरुवात गर्ने श्रेय मर्कन्टाइललाई नै जान्छ । त्यतिबेला अनलाइनमा राखिएको सामग्री गोरखापत्र दैनिकको भने थिएन । यसकै भगिनी प्रकाशन दी राइजिङ नेपालको एचटीएमएल सामग्रीलाई अनलाइनमा उपलब्ध गराएको इतिहास छ ।
सुरुवातका केही वर्ष मर्कन्टाइल कम्युनिकेसनमार्फत आफ्ना सामग्रीलाई अनलाइनमा उपलब्ध गराइराखेको गोरखापत्रले आफ्नो प्रकाशनको एक शताब्दी पूरा भएपछि आफ्नै डोमेनमार्फत अनलाइनमा समाचार सामग्री प्रकाशन सुरु ग¥यो । २०५९ वैशाख २४ गते मङ्गलबारदेखि www.gorkhapatra.org.np नामबाट गोरखापत्रले आफूलाई भर्चुअल दुनियाँमा प्रवेश गराएको थियो । गोरखापत्रले सुरुमा प्रयोग गरेको डोमेन सञ्चार माध्यमका लागिभन्दा बढी संस्थागत जानकारीका लागि उपयोग गरिने डोमेन नाममा आधारित देखिन्छ ।
नेपालको पहिचान जोडिएको डट एनपी डोमेनबाट अनलाइन सामग्री उपलब्ध गराउनु आफैँमा भने गोरखापत्रको सकारात्मक सुरुवात हो । गोरखापत्रले यही डोमेनबाट करिब एक दशक गोरखापत्र दैनिकमा प्रकाशित हुने समाचार सामग्री र संस्थानसँग सम्बन्धित सूचना प्रवाह गरिरह्यो । अहिले यो डोमेन गोरखापत्र संस्थानसँग सम्बन्धित आधिकारिक सूचना तथा जानकारीका लागि अद्यापि निरन्तर छ । यो डोमेन सुरु भएको एक दशकपछि अर्थात् २०६९ मङ्सिरदेखि गोरखापत्रले www.gorkhapatraonline.com बाट आफ्ना सामग्री प्रकाशनलाई नियमितता दियो ।
यो डोमेन अहिले विश्वभर प्रचलनमा रहेको व्यावसायिक डोमेनमा आधारित छ । गोरखापत्रलाई अनलाइन सञ्चार माध्यमका रूपमा स्थापित गराउने डोमेनका रूपमा पनि यसलाई हेर्न सकिन्छ । लामो समय यस अनलाइनबाट समाचार सामग्री प्रकाशन भइरहे । यद्यपि यसबाट छुट्टै सञ्चार सामग्रीभन्दा गोरखापत्र र यसका भगिनी प्रकाशनमा प्रकाशित सामग्री बढी यसका प्राथमिकतामा रहे ।
अनलाइन सञ्चार माध्यमको बढ्दो लोकप्रियताबीच गोरखापत्रले पनि आफ्नो अनलाइन माध्यमलाई थप सशक्त बनाउन २०७६ सालको सुरुवातमा अनलाइन विभाग गठन गरेर यसको आफ्नै अलग पहिचान स्थापित गर्न सुरु ग¥यो । विभाग गठन भएपश्चात् २०७६ साल भदौ २४ गते सूचना विभागमा यसलाई विधिवत् दर्ता गरिएको थियो । सोही वर्ष गोरखापत्र अनलाइनको लेआउट डिजाइनमा व्यापक परिवर्तन गरेर यसलाई पाठकका लागि सहज बनाइयो । अहिले कायम रहेको गोरखापत्र अनलाइनको डिजाइन त्यसै समयको परिवर्तनको उपलब्धि हो ।
गोरखापत्र अनलाइनमा प्रवेश गरेपछि यसका भगिनी प्रकाशनका सामग्री पनि सहजै पढ्न सक्ने गरी व्यवस्था गरिएको छ । पाठकको रुचिअनुसारका समाचारलाई मेनुबारमा वर्गीकरण गरिएको छ, यद्यपि यसमा नियमित परिवर्तन आवश्यक छ । गोरखापत्रले आफ्नो अनलाइनमा प्रकाशित सामग्रीलाई गोरखापत्र नामको एपमार्फत पनि उपलब्ध गराइरहेको छ । एपबाट गोरखापत्र अनलाइनमा प्रकाशन भइरहेका सामग्री तुरुन्त हेर्न सकिन्छ ।
विश्वभरकै प्रचलन
विश्वका चर्चित प्रकाशन गृहले आफ्ना समाचार सामग्री अनलाइनबाट पनि प्रवाह गर्नु अहिले सामान्यजस्तै बनेको छ । प्रायः सबै प्रकाशन गृहले आफ्नै नामबाट अनलाइन सञ्चालन गरेर भर्चुअल माध्यममा पनि उपस्थिति जनाएका छन् । न्युयोर्क टाइम्स, इकोनोमिस्ट, दी गार्डियन, टाइम्स अफ इन्डियाजस्ता चर्चित प्रकाशन गृहको अखबारमा जस्तै अनलाइनमा पनि बलियो उपस्थिति छ । विश्वको ठूलो जनसङ्ख्या इन्टरनेट प्रयोगमा अभ्यस्त भइसकेको अवस्थामा अनलाइनबाट पनि आफ्नो प्रकाशनका सामग्री उपलब्ध गराउनु प्रकाशन गृहका लागि बाध्यता भइसकेको छ ।
भौतिक रूपमा पत्रिकाको पहुँच सबै ठाउँमा सम्भव नहुन सक्छ । अझ नेपालजस्तो भूबनोट भएको ठाउँमा यातायातकै कारणले पनि पत्रिका समयमै पुग्न कठिन छ । छिनभरमै समाचार प्रवाह गरिरहनुपर्ने अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा पत्रिका ढिलो गरी पुग्ने, पुग्दै नपुग्ने अवस्थाको विकल्पका लागि पनि अनलाइनको प्रयोग अनिवार्य थियो । गोरखापत्रले समयको त्यो आवश्यकतालाई सम्बोधन गरेको देखिन्छ । अझै प्रतिस्पर्धात्मक बन्नुपर्ने काम बाँकी नै छ । गोरखापत्र मात्र नभएर नेपालभित्र प्रकाशित हुने प्रकाशनहरूले पनि आफूलाई अनलाइनका माध्यमबाट भर्चुअल दुनियाँमा पनि उपलब्ध गराइरहेका छन् ।
विश्वभर अनलाइनको अत्यधिक प्रयोगले प्रकाशन माध्यमलाई झन् विशिष्ट बनाउन सहयोग गरिरहेको छ । घटनाप्रधान समाचार अनलाइनमै तुरुन्त अपडेट भइहाल्ने भएकाले पत्रिकाले यस किसिमका समाचारभन्दा विषयप्रधान समाचारमा ध्यान केन्द्रित गर्न पाइरहेका छन् । यसले विषयवस्तुको गहिराइसम्म पुगेर सहजै उपलब्ध सूचनाभन्दा थप नयाँ र फरक तथ्य ल्याउन सहयोग पुगेको छ । छोटा समाचार अनलाइनमा र लामा समाचार पत्रिकामा भन्ने अभ्यासतर्फ प्रकाशन गृहहरू ढल्किरहेका छन् ।
अनलाइन र पत्रिकाको भेद छुट्याउने आधार पनि यस्तै किसिमका समाचार बन्न थालेका छन् । गोरखापत्रले पनि समाचार सिर्जनाको यो अभ्यासमा आफूलाई ढाल्न खोजेको देखिन्छ तर निरन्तरताको जरुरी छ । औपचारिक कार्यक्रम, सभा सम्मेलनमा व्यक्त हुने अभिव्यक्तिलाई मात्र मुख्य समाचार बनाउने आरोप खेप्ने गोरखापत्रले त्यस्ता समाचारलाई अनलाइनबाट तत्काल प्रवाह गर्ने र पत्रिकालाई आमजनतासँग प्रत्यक्ष जोडिने सरोकारका विषयमा केन्द्रित गराउने हो भने गोरखापत्र दैनिकको आवश्यकता थप पुष्टि हुन सक्छ ।
सामाजिक सञ्जालको लाभ
विश्वभर नै अनलाइन सञ्चारमाध्यमलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जालको भूमिका बलियो छ । सूचनाको तीव्र र सहज प्रवाहमा सामाजिक सञ्जाल वरदान साबित भएका छन् । सामाजिक सञ्जालको प्रयोगबिना सञ्चारमाध्यम स्थापित हुन नसक्ने अवस्था भइसकेको छ । त्यसैले विश्वका अधिकांश सञ्चार माध्यमले सामाजिक सञ्जाललाई समाचार प्रवाहको भरपर्दो माध्यमका रूपमा उपयोग गर्दै आएका छन् ।
गोरखापत्रका लागि पनि सामाजिक सञ्जालको उपयोग लाभदायक भएको छ । गोरखापत्र अहिले फेसबुक, ट्विटर र युट्युबमा मुख्य गरी उपलब्ध छ । यी सबैमा गरेर करिब साढे सात लाखले गोरखापत्रलाई ‘फलो’ गरिरहेका छन्, जुन गोरखापत्रका लागि अमूल्य सम्पत्ति हुन् ।
गोरखापत्र यिनै सामाजिक सञ्जाल उपयोग गरेर पाठकसँग निरन्तर नजिक बनिरहेको छ । नेपालमा सबैभन्दा पहिले अनलाइनमा ई–पेपर उपलब्ध गराउने पत्रिका हो गोरखापत्र । घरमा भन्दा पहिले अनलाइनमै पढ्न पाउने सुविधा गोरखापत्रले उपलब्ध गराइरहेको छ । फेसबुक र ट्विटरमा गोरखापत्र फलो गर्नेले यसको लाभ लिइरहेका छन् । सामाजिक सञ्जाल नै अनलाइनमा पाठक भिœयाउने महìवपूर्ण माध्यम भएकाले यस्ता माध्यम गोरखापत्रका पाठक बढाउन सहयोगी बनेका छन् ।
अर्कोतिर युट्युबमार्फत पनि गोरखापत्रले भिडियो सामग्री उपलब्ध गराउने प्रयत्न गरिरहेको छ । सूचनामूलक र अन्तर्वार्तामा भिडियो सामग्री बढी केन्द्रित देखिन्छ । समग्रमा सामाजिक सञ्जालको उपयोगमार्फत पाठकलाई सूचित गर्ने काममा गोरखापत्रको अनलाइन संस्करण नियमित लागिरहेको छ ।
डिजिटल अर्काइभिङमा गोरखापत्र
गोरखापत्रले अनलाइनमार्फत मात्र नभई गोरखापत्रका सुरुदेखिका संस्करणलाई पाठकले सहजै पढ्न सक्ने गरी पनि आफूलाई भर्चुअल दुनियाँमा प्रवेश गराउँदै छ । यसका लागि पत्रिकाको डिजिटल अर्काइभिङको परीक्षणका काम हुँदै छ । हालसम्म प्रकाशन भएका हरेक पत्रिकाको उच्च गुणस्तरीय तस्बिर लिएर त्यसलाई समय, साल, महिनाअनुसार वर्गीकरण गरेर राख्ने काम यसअन्तर्गत हुन्छ ।
लामो इतिहास बोकेका कारण इतिहासका विभिन्न कालखण्ड, राजनीतिक उतारचढाव, सामाजिक परिवेश र संस्कृतिलगायतका विषयको जानकारीका लागि यो अर्काइभिङ धेरैका लागि उपयोगी हुन सक्छ । गोरखापत्रका पुराना प्रति पढ्नुपरे सीमित पुस्तकालयमा जानैपर्ने, त्यसमध्ये कतिपय अङ्क नभेटिने, पुरानो भएका कारण च्यातिएकाले पढ्न समस्या हुनेजस्ता समस्यालाई यसले समाधान दिन सक्छ । खासगरी अध्येता, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थीलगायत इतिहासप्रति रुचि हुनेका लागि यो सबैभन्दा उपयोगी हुन सक्छ ।
अवसरै अवसर
विगतमा गोरखापत्र दैनिक र अन्य प्रकाशनमा प्रकाशित सामग्रीकै बाहुल्य रहनेमा अहिले भने गोरखापत्र अनलाइन विभागले आफैँ तयार गरेर समाचार सामग्रीको सङ्ख्या बढ्न थालेको छ, जुन सुखद सङ्केत हो तर अनलाइन सञ्चारमाध्यमको तीव्र प्रतिस्पर्धाका बीच आफूलाई अलग र विश्वसनीय बनाउने चुनौती भने कायमै छ । यद्यपि गोरखापत्रको लामो र विश्वसनीय विरासतका कारण गोरखापत्रको अनलाइन माध्यमलाई पहिले नै त्यो लाभ भने कायम छ । त्यससँगै यसका लागि पर्याप्त अवसर पनि उपलब्ध छन् । आजको दिनमा गोरखापत्र समाचारसँगै यसमा उपलब्ध हुने सूचनाका लागि पनि उत्तिकै पढिन्छ । खासगरी सरकारी निकायले सिर्जना गर्ने रोजगारीका सूचना, बोलपत्रका लागि गोरखापत्र पढ्नेहरूको पनि ठूलो सङ्ख्या छ । यी आफैँमा सूचनाका बलिया स्रोत हुन् । यस्ता सूचनाको पहिलो प्रयोग गोरखापत्र अनलाइनले प्रयोग गर्न सक्छ, जसबाट धेरै पाठक लाभान्वित हुन सक्छन् । गोरखापत्रले अहिले जसरी सजिलै ई–पेपर उपलब्ध गराइरहेको छ, त्यसलाई इमेल अथवा अन्य कुनै डिजिटल रजिस्टे«सन अनिवार्य गरेर उपलब्ध गराउन सके पाठक पहिचानमा सहयोग पुग्न सक्छ ।
अनलाइन माध्यमलाई नियमित किसिमका समाचार मात्र नभएर सामाजिक सञ्जालबाट सामाजिक विषयवस्तुमा पाठकको अभिमत बुझेर पनि पाठकसँग थप नजिक बन्न सकिन्छ । त्यस्तो अभिमतलाई समाचारको सन्दर्भमा पनि उपयोग गर्न सकिन्छ । समाचारको प्रस्तुतिमा ग्राफिक्स, इलुस्ट्रेसन, भिडियो उपयोग पनि बढिरहेको छ । यस्ता पछिल्ला अनलाइन टे«न्डको उपयोग पनि गोरखापत्रको अनलाइनका लागि प्रभावकारी हुन सक्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता पछिल्लो समय छोटा कन्टेन्ट र भिडियो सामग्रीमा बढी आकर्षित छन् । खासगरी टिकटकको प्रयोगमार्फत सूचना प्रवाह एकदमै धेरै हुन थालेको छ । यस किसिमका माध्यमबाट पनि समाचारको अपडेट गराउन सकिन्छ । नयाँ पुस्ताका पाठकसँग जोडिन पनि यो उपयोगी हुन सक्छ । यसबाहेक युट्युब च्यानलको प्रयोगमार्फत समसामयिक विषयवस्तुका बारेमा भिडियोमा उत्पादन गरेर पाठकलाई थप जानकारी र सूचना दिन सक्ने अवसर गोरखापत्रलाई छ ।
अनलाइनको प्रयोग प्राविधिक पनि हुने भएकाले प्राविधिक जनशक्तिको समेत व्यवस्था गरेर समयअनुसार डिजाइनमा परिवर्तन ल्याउने, विशेष सामग्रीको विशेष प्रस्तुति गर्ने, सामाजिक सञ्जालको प्रयोगमा एकरूपता ल्याउनेजस्ता क्षेत्रमा काम गर्न सके गोरखापत्रको भर्चुअल यात्रा उत्तिकै प्रभावकारी हुनेछ ।