• १३ साउन २०८१, आइतबार

घर निर्माण गर्ने क्रममा पुरिएर चारजनाको मृत्यु

blog

माटोमा पुरिएका मजदुरको शव जोज्दै प्रहरी र स्थानीय जनप्रतिनिधि ।

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), बैशाख २२ गते । इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको छ । 

शुक्रबार साँझ स्थानीय विनोद श्रेष्ठको घर निर्माण गर्दै गर्दा माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो । मृतक सबै भारतीय नागरिक हुन । 

शुक्रबारबाट नै घर निर्माण शुरु गरिएको थियो । घरको गजको प्लम हाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झरेर पुरिएका मजदुरको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको किसनगन्ज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनु भयो । घर निर्माणका ठेकेदार ममत अलाम सहित चारजना भागेर बाँच्न सफल भएका छन् । 

घटना भएको केही बेरमै प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धारको काम थाले पनि गहिरो माटोले पुरिएका कारण शव निकाल्न समय लागेको थियो । प्रहरी निरीक्षक राईले भन्नुभयो, ‘‘कहाँ पुरिएको भन्ने नै अनुमान गर्न सकिएन सबै ठाउँमा खोज्दा शव फेला पार्न सफल भयौँ ।’’ जेसीबीले खनेर शव निकालिएको छ । 

सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले भर्खरै खनिएको घडेरीमा माथिको जमिन कच्ची भएका कारण पहिरो खसेको बताउनु भयो । 

समथर भूभाग भएका कारण जोखिमजस्तो नदेखिए पनि माथिबाट सुक्खा पहिरो भर्दा मजदुरको ज्यान गएको बताउनु भयो । शवलाई फिक्कल अस्पतालमा राखिएको छ । शनिबार पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । 

ठेकेदार अलामले भारतबाट परिवारका सदस्य भिकाइएको जानकारी दिनुभयो । सबै मजदुर केही समय अघिदेखि सूर्योदय नगरपालिकाका विभिन्न स्थानमा घर निर्माणको काम गर्दै आएका थिए ।