• २३ वैशाख २०८२, मङ्गलबार

मेलामा मनपरी मूल्य, उपभोक्ता निराश

blog

सप्तरीको शम्भुनाथमा लागेको मेला । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), वैशाख २२ गते । सप्तरीको प्रसिद्ध मन्दिर शम्भुनाथमा लाग्ने एक महिने मेलामा पार्किङ्गदेखि मेलाका पसलमा बिक्री गरिने सामग्रीमा चर्को मूल्य लिने गरिएको स्थानीय उपभोक्ताको भनाइ छ । अफिसरदेखि सर्वसाधारण र युवा युवतीदेखि वृद्धसम्मको घुइँचो लाग्ने शम्भुनाथ मेलामा शनिवार अत्यधिक भीड लाग्नेगर्छ । 

बाहिर बजारमा किलोको एक हजारदेखि १२ सयसम्म पाइने खसीको मासु शम्भुनाथ मेलामा किलोको दुई हजार रुपियाँमा बिक्री भइरहेको छ । नाती लिएर वोदेबर्साइन –५ बाट मेला हेर्न आउनुभएकी सविता साहले मेला अचाक्ली महंगो भएपछि उपभोक्तालाई समस्या भएको बताउनुभयो । 

तीन दशकदेखि हरेक वर्ष मेलामा महिनाभरी राम–लक्ष्मण मासु पसल सञ्चालन गर्दैआएका शम्भुनाथ –३ का राम साहले भन्नुभयो, “मेरो पसलमा पकाएर किलोको १४ सयको दरले मासु बेच्नेगरेका छु । तर यहाँका अन्य मासु पसलहरूले आफूखुशी दररेट लिएर उपभोक्ता ठग्ने गरेका छन् ।” अघिल्लो साता प्रमुख जिल्ला अधिकारीसहित जिल्लाको सबै प्रमुखहरू आएर सुरक्षा प्रवन्ध मिलाएका छन् । 

“मूल्यमा एकरूपताबारे गुणस्तरलगायतको अनुगमन कतैबाट भएको छैन । यसले धेरै लगानी गरेर महिनाभरी यहाँ आउने दर्शनार्थी तथा उपभोक्ताको सहजताका लागि पसल थापेका हामीजस्ताले मार खेप्नुपरेको छ” उहाँले भन्नुभयो । मेलामा राखिने सबै सामग्रीमा मूल्य चर्को रहेको उपभोक्ताले जनाएका छन् । 

मेलामा होटल तथा मिठाई पसल थापेका सुरेश हलुवाईले भन्नुभयो, “वैशाख कट्न थालिसक्यो, मेला समितिले मेलामा लिनेगरिएको चर्को मूल्यबारे अनुगमनमा तदारुकता देखाएको छैन ।  ठेकेदारले अन्तिममा ५ देखि १० हजारसम्म पसलैपिच्छे फरक–फरक दरको भाडा उठाउन आइपुग्छन्, हलुवाईले भन्नुभयो ।

शम्भुनाथ मेलामा पछिल्लो समय पार्किङ, समिति, सफाई आदिको नाममा ठेकेदार र मेला समिति भन्दै खेतमा राखेको प्रतिमोटरसाइकल ३० देखि ५० रुपियाँसम्म नागरिकबाट जथाभावी ढाट लगाएर पैसा उठाउनेगरेको राजविराजबाट मेला हेर्न गएका राजनारायण साहले बताउनुभयो । मेला व्यवस्थापनबारे आफू जानकार नरहेको स्थानीय सरकारका प्रमुख, वडा ३ का अध्यक्ष नविन चौधरीले बताउनुभयो । हरेक वर्षको बैशाखको मेला प्रारम्भ हुनेगरेको छ ।

सँधै यहीका ठेकेदारलाई दिइने मेला ठेक्काप्रति नगरपालिकाले यो वर्ष बाहिरकालाई दिएको र व्यवस्थापनमा खासै चासो लिएको छैन, तर गत वर्ष खासै मेला लगाउन नपाएका शम्भुनाथ नगरपालिकाका युवाहरु यो वर्षको अन्तिमसम्म उल्लासमय मेलाको तयारीमा लागेको स्थानीय सरोज चौधरीले बताउनुभयो । मेलामा चर्को मूल्य भएपछि स्थानीय उपभोक्ता निराश भएका छन् ।