लक्ष्मण दर्नाल
काठमाडौँ, असार २१ गते । यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द हुँदा शुक्रबार सेवाग्राहीले दुःख पाए । लाइसेन्स छपाइको नियमिततर्फको मात्र नभई अत्यावश्यक सेवासेमत बन्द हुँदा करिब तीन सय सेवाग्राहीले सास्ती भोगेका हुन् । विदेशमा अध्ययन, रोजगारी र शान्ति सेनामा जानेलाई दिँदै आएको अत्यावश्यक सेवा दैनिक दुईदेखि तीन सय जनाले लिँदै आएका छन् ।
यातायात व्यवस्था विभागले शुव्रmबार दिनभर सबै सेवा बन्द गरेर साँझ खुला गरेको छ । दैनिक पाँच हजार नयाँ लाइसेन्सको माग भइरहेको र ३० लाख प्रति लाइसेन्स छाप्न बाँकी रहेको अवस्थामा प्राविधिक समस्या देखाएर विभागले सबै सेवा बन्द गरेको थियो तर शुक्रबार साँझ सबै सेवा नियमित भएको सूचना विभागले सार्वजनिक गरेको छ । शुक्रबार बिहान सबै सेवा बन्द भएको सूचना निकालेको विभागले शुव्रmबार साँझ भने सबै सेवा पुनः नियमित भएको सूचना सार्वजनिक गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भन्नुभयो, “सर्भरमा समस्या आएकाले बन्द भएको थियो । शुव्रmबार साँझबाटै सबै सेवा नियमित भएका छन् ।” अत्यावश्यक सेवामा दैनिक तीन÷चार सय प्रति लाइसेन्स छपाइ हुँदै आएको थियो । यो सेवा विदेश जानेले लिँदै आएका थिए तर शुक्रबार भने उक्त सेवा बन्द भयो ।
विभागले शुक्रबार बिहान सूचना सार्वजनिक गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको थियो । समस्या समाधान कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवा बन्द भएको सूचनामा उल्लेख छ ।
विभागले जेठदेखि नै मेसिन बिग्रिएको भन्दै नियमित छाप्ने काम बन्द गरेको थियो । अत्यावश्यक लाइसेन्स छाप्ने काम भने त्यही बिग्रिएको मेसिनबाट गरिरहेको थियो । विभागसँग देशभरका लाइसेन्स छाप्न एउटा मास प्रिन्टर छ । त्यो पनि पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेर बिगारिएको छ । मास प्रिन्टरले दैनिक पाँचदेखि छ हजार प्रति प्रिन्ट गर्न सक्छ तर विभागले दैनिक तीन हजार मात्र छाप्दै आएको थियो ।
मेसिन आफैँमा पुरानो भएको विभागले जनाएको थियो । जेठको अन्तिममा पनि लेजर प्रिन्टिङ बिग्रिएको, अनलाइन प्रणाली र एप्लिकेसनमा समस्या रहेकाले मर्मत गर्न नियमिततर्फको छपाइ बन्द गरिएको भन्दै सूचना राखेको थियो । २०७२ देखि लागु भएको स्मार्ट लाइसेन्स सुरुकै दिनदेखि छाप्ने काम बाँकी रहँदै आएको थियो । समस्या समाधानका लागि गत भदौमा कर तिरेको रसिदमै क्युआर कोड र फोटो राखिने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।