• १३ साउन २०८१, आइतबार

नेपाली उत्पादन प्राथमिकतामा : रिजाल

blog

ललितपुर, वैशाख २२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लघु, घरेलु तथा साना उद्योग र हस्तकलाजन्य उत्पादनको प्रवद्र्धनमा सरकारको प्राथमिकता रहने बताउनुभएको छ ।

ललितपुरको सातदोबाटोमा उद्यमी घरको शुभारम्भ गर्दै उहाँले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि तयार हुँदै गरेको नीति तथा कार्यक्रममा घरेलु हस्तकलाजन्य सामग्री, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई उचित सम्बोधन गरी प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नेपाली उत्पादन र बजारीकरणलाई ध्यान दिनुपर्ने भन्दै स्वदेशी बजारलाई प्राथमिकता दिन नसक्दा विदेशी उत्पादनमा निर्भर हुनु परेको बताउनुभयो ।

उद्यमी घरका सञ्चालक दीपक कार्कीले नेपाली लघुउद्यमको विकास र प्रवद्र्धनका लागि देशका ५० भन्दा बढी जिल्लामा गरिएको सीपमूलक कार्यक्रमबाट सीप हासिल गरेका उद्यमशील हातबाट उत्पादित सामग्रीको प्रवद्र्धनका लागि उद्यमी घर सञ्चालनमा ल्याइएको बताउनुभयो । 

उद्यमी घरमा गुणस्तरीय उत्पादन सर्वसुलभ रूपमा उपलब्ध हुने र यहाँबाट नेपाली उत्पादनलाई प्रवद्र्धन गरिने उहाँले बताउनुभयो ।

‘नेपाली मन, नेपालीपन, नेपालकै उत्पादन’ भन्ने नाराका साथ सञ्चालनमा आएको उद्यमी घरमा विभिन्न हस्तकलाका सामग्री, कृषि उत्पादन, सीपमूलक तालिम लिएका व्यक्तिले उत्पादन गरेका खेलौनाका परम्परागत सामग्रीसमेत उपलब्ध छन् ।