• १३ साउन २०८१, आइतबार

उत्पादकत्वमा वृद्धि हुने गरी अनुसन्धान गर्न निर्देशन

blog

काठमाडौँ, वैशाख २२ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषिमा उत्पादकत्व र उत्पादन वृद्धि हुने गरी अनुसन्धानलाई अगाडि बढाउन कृषि वैज्ञानिकहरूलाई निर्देशन दिनुभएको छ । 

मन्त्री भुसालले बिहीबार नेपाल कृषि अनुसन्धन परिषद् (नार्क)मा अनुगमन गर्न गएका बेला सो निर्देशन दिनुभएको हो । मन्त्री भुसाल बिहीबार नार्कमा आकस्मिक निरीक्षण गर्न पुग्नुभएको थियो । १०:३० बजे पुग्दा नार्कको केन्द्रीय कार्यालयमा कुनै पनि कर्मचारी थिएनन् । उहाँ अनुगमनकै क्रममा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा पुग्नुभएको थियो । त्यही नार्कका निर्देशक डा. धु्रव भट्टराईको उपस्थितिमा कार्यक्रम थियो । 

सोही कार्यक्रममा मन्त्री भुसालले निर्देशन दिँदै भन्नुभयो, “कृषिमा अनुसन्धान भइरहेका छन् तर किसानसम्म पुगेको छैन । नयाँनयाँ अनुसन्धान गरी उत्पादनमा वृद्धि हुने गरी काम गर्नुपर्छ ।” कृषि अनुसन्धान केन्द्रलाई व्यवस्थित कसरी बनाउने त्यसका लागि आफूले कार्य गरिरहेको र त्यसका लागि सबैको सहयोग र सुझाव चाहिने उहाँले बताउनुभयो । उहाँले कर्मचारीलाई समयमा कार्यालयमा उपस्थित हुन निर्देशन पनि दिनुभयो । 

नार्कका निर्देशक भट्टराईले प्रदेशस्तरको कृषि अनुसन्धानलाई प्रभावकारी बनाउन प्रदेश कृषि अनुसन्धान र समन्वय रणनीति बनाई यथाशीघ्र लागू गर्न सुरुवात गरिएको बताउँदै केन्द्र, प्रदेश, स्थानीयस्तर साथै किसान र उद्योगसँग कृषि अनुसन्धानलाई जोड्ने गरी राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको मार्गचित्र तयार गर्न सुरु गरिएको बताउनुभयो । 

अमेरिकाको मेचिकन स्टेट विश्वविद्यालय र नार्कको साझेदारीमा लुम्बिनी, मधेश प्रदेश र सुदूरपश्चिममा मसुरोको उत्पादन बढाउन अनुसन्धान गर्ने र अन्तर्राष्ट्रिय बजारको खोजी गर्न सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । 

राष्ट्रि बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. टीकाबहादुर कार्कीले कृषि बालीको क्षेत्रमा नार्कले गरेको विभिन्न अनुसन्धानका बारेमा मन्त्री भुसाललाई जानकारी गराउनुभएको थियो ।