• १३ साउन २०८१, आइतबार

निगम अध्यक्षलाई प्राधिकरणको पुनः स्पष्टीकरण

blog

काठमाडौँ, वैशाख २१ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा मनपरी गरेको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले प्राधिकरणले गरेको निर्णय तथा नीतिगत व्यवस्था र मन्त्रीपरिषद्बाट निर्णय भएको विषयसमेत कार्यान्वयन नगरेको भन्दै स्पष्टीकरण सोधको हो । प्राधिकरणले यस विषयमा पहिले पनि स्पष्टीकरण सोधेको थियो तर अधिकारीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणले एकाउन्टेबल म्यानेजरबाट तपाईंलाई किन नहटाउने भन्ने प्रश्नसहित तीन दिनभित्र आफैँ उपस्थित भएर पुनः जवाफ दिन निर्देशन जारी गरेको हो ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा निगमले मनपरी गरेको भन्दै के कारण नियमावलीअनुसार काम नभएको हो भन्दै पुनः स्पष्टीकरण दिन निर्देशन दिएको हो । प्राधिकरणले निमगलाई मन्त्रीपरिषद्बाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको जवाफसमेत माग गरेको छ ।

यसैगरी भूमिस्थ सेवाप्रदायक निकायले अनिवार्य लागू गर्नुपर्ने गरी स्वीकृत गरेको  प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क २०२२ बमोजिमको संशोधित ग्राउन्ड ह्यान्डलिङ शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ सञ्चालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न गरिएको प्रयासमा समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलले बेहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने के हो भनेरसमेत स्पष्टीकरण सोधेको छ । 

यसैगरी प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञा गरेकाले जवाफ मागेको छ ।