हुम्ला समाचारदाता
हुम्ला, वैशाख २१ गते । बाजुराको बूढीनन्दा नगरपालिकाको कर्णाली नदी र बड्डीगाडको बीचमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणी धाम ओझेलमा परेको छ । परापूर्वकालमा निर्माण गरिएका मन्दिरहरू र धर्मशालाको अवशेष मात्र रहेका छन् । धार्मिक तथा पर्यटकीय स्थल भए पनि त्यसको प्रचारप्रसार र संरक्षण हुन नसकेपछि धाम ओझेलमा पर्दै आएको हो ।
यस क्षेत्र प्राकृतिक रूपमा पनि उत्तिकै सुन्दर देखिन्छ । यो धामको महत्व हिन्दु धर्मको प्राचीन सभ्यतासँग पनि जोडिएको पाइन्छ । यो क्षेत्र कैलाश मानसरोवरको भौगोलिक सीमारेखसँग पनि जोडिएकाले यसको विशेष महत्व छ । कैलाश मानसरोवरलाई भगवान् शिवको बासस्थान मानिन्छ । बर्सेनि हजारौँ भारतीय र नेपाली तीथयात्री त्यसको दर्शनका लागि पुग्ने गर्छन् । पादुका धाम क्षेत्र चारैतिर पहाडले घेरिएको उपत्यका जस्तै छ । कोल्टीका पर्यटन व्यवसायी जनेस भण्डारी धार्मिक र ऐतिहासिक महत्व बोकेको पादुका धाम प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय तह, प्रदेश सरकारले यस धामको संरक्षण र प्रवद्र्धन गर्न सकेमा धाम र यसबाट यस भेगका बासिन्दाको समेत समृद्धि ल्याउन सकिन्थ्यो ।”
भण्डारीका अनुसार कोल्टी क्षेत्रका धार्मिक स्थल र महासन पातसमेत यही क्षेत्रमा पर्छन् । पादुका क्षेत्रमा बग्ने कर्णाली नदीको पानी पनि भगवान् शिवको बासस्थान मानिएको मानसरोवरकै पानी भएकाले त्यो त्यसै पनि पवित्र धाम भएको स्थानीयको भनाइ छ । यस क्षेत्रमा श्री कृष्ण जन्माष्टमी, मकर सङ्क्रान्ति, शिवरात्रि र तीजको बेला मेला लाग्ने गर्छ ।
कुम्भ मेला परेको वर्ष त्यो मुहानबाट दीप बल्ने र नजिकैको कर्णाली नदीसमेत उज्यालो हुने उहाँले बताउनुभयो । मकर सङ्क्रान्तिको बेलामा पानीमा ज्याला देखिने गरेको धाममा पुजारी मस्टीप्रसाद उपाध्याय बताउनुहुन्छ । पादुका क्षेत्रको महिमाका बारेमा महाभारतमा पनि उल्लेख गरिएको उहाँको भनाइ छ । उहाँको अनुसार यो क्षेत्रमा शिव–पार्वतीको क्रीडास्थल, भगवान् विष्णु बास बसेको स्थान र पाँच पाण्डवले तपस्या गरेको स्थानका रूपमा रहेको छ ताम्रपत्रमा समेत उल्लेख गरिएको पाइन्छ ।
पैदल मार्गबाट कैलाश मानसरोवर जाँदा पादुका क्षेत्र प्रवेशद्वारका रूपमा रहन्छ । यसको दर्शन गरेर मात्र यात्रा अगाडि बढाउनुपर्ने परम्परा रहेको छ । पादुका धामको दर्शन नगरी अगाडि बढेमा शुभ नहुने स्थानीयको विश्वास रहेको छ । यस क्षेत्रमा वि.स. १९०१ मा बालनरसिंह कुँवर (तत्काली राण प्रधानमन्त्री जङ्गबहादुर राणा)का बुवाले निर्माण गरेको मन्दिर पनि हो । उहाँले राख्न लगाउनुभएको ताम्रपत्रमलाई समेत स्थानीयले संरक्षण गरेर राखेका छन् ।