• १३ असोज २०८१, आइतबार

एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मगर

blog

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त हुनुभएका रामबहादुर राना मगर । तस्बिर : गोकुल पराजुली

गोकुल पराजुली

विराटनगर, वैशाख २० गते । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार राना मगरलाई दलको उपनेता मनोनीत गर्नुभएको हो । 

मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलको सचेतकमा प्रदेशसभा सदस्य सिर्जना राईलाई मनोनीत गर्नुभएको छ । सांसद राना मगर इलाम क्षेत्र २ (२) बाट निर्वाचित हुनुभएको हो भने यसअघि उहाँ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत हुनुहुन्थ्यो । यसैगरी सचेतक राई समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्यमा निर्वाचित भएर सो जिम्मेवारी पाउनुभएको हो । 

मुख्यमन्त्री कार्कीले दलको उपनेता र सचेतक नियुक्त गर्ने कामलाई थाँती राख्दै आउनुभएको थियो । गत फागुन १७ गते प्रदेशको नामकरण गर्दा प्रस्तावक बन्नुभएका रानालाई मुख्यमन्त्री कार्कीले दलको उपनेता बनाएर पहिचान पक्षधरलाई सन्देश दिने प्रयत्न गर्नुभएको अर्थमा यसलाई लिइएको छ । एमालेले यसअघि नै संसदीय दलको प्रमुख सचेतकमा सांसद रेवतीरमण भण्डारीलाई नियुक्ति गरिसकेको छ ।