• १३ साउन २०८१, आइतबार

अनियन्त्रित ट्रक घरमा ठोक्किँदा तीनको मृत्यु, पाँच घाइते

blog

दुर्घटनामा परेको ट्रक । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २० गते । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको बन्दिपुर गाउँपालिका –५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । 

बुधबार बिहान ९ः२० बजे अनियन्त्रित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुस्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पैदल यात्रीहरू र सोही घरमा बस्ने तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हाडजोर्नी अस्पताल आबुँखैरेनी तनहुँमा प्राथमिक उपचारका लागि लगिएको थियो । घाइतेहरूको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उहाँले जानकारी दिनुभयो । 

बन्दीपुर वडा –१ स्थायी घर भई हाल सोही पालिकाको वडा –५ निवासी, वर्ष १२ को आयुस भुजेल, वर्ष ६ कि आयुसा भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको प्रनाउ खाणले जानकारी दिनुभयो । सोही ठाउँका वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समीर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाइते हुनुभएको छ । 

दुर्घटनापछि पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी खण्डमा यातायात अवरुद्ध भएको छ । घाइतेका आफन्त तथा स्थानीय बासिन्दाले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रनाउ खाणले जानकारी दिनुभयो ।