• १३ साउन २०८१, आइतबार

विद्युत् प्राधिकरणलाई निःशुल्क ट्रान्सफर्मर

blog

काठमाडौँ, वैशाख २० गते । नेपाल एकारात इन्जिनियरिङ कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रूपमा अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर उपलब्ध गराएको छ । ५०० केभीए क्षमताको उक्त ट्रान्सफर्मर करिब ३२ लाख रुपियाँ मूल्यको हो ।

उक्त ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे/नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गर्नुभएको हो । 

जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कारगिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री रहेको जनाइएको छ । प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रूपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।