काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सोमबार अभियानका प्रतिनिधिले निगमको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो । यसअघि शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो सङ्गठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो ।
सो सङ्गठनका प्रवक्ता वीरजङ्ग विश्वकर्माले इन्डियन आयल कर्पोरेसनबाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्यसूची सार्वजनिक गर्न माग गर्नुभयो ।
उहाँका अनुसार मूल्य स्थिरीकरणका लागि उपलब्ध कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्दै कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न कडा अनुगमन गर्नुपर्ने तथा हालको आर्थिक सङ्कट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि पूर्णरूपमा रोक्नुपर्ने जेनजी नागरिक अभियानको माग रहेको छ ।
उहाँले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको लाभ उपभोक्तासम्म नपुगेको समेत बताउनुभयो । निगमको कार्यालयमा केही समय नाराबाजी समेत गरेका उनीहरूलाई प्रहरीले रोकेको थियो ।