• ८ मंसिर २०८१, शनिबार

सिंहदरबारभित्र कुकुरको बिगबिगी

blog

काठमाडौँ, वैशाख १६ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो। 

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभाबी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर सङ्कलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। कुकुरले कतिपय मन्त्रालयका भ¥याङमा दिसा गर्ने गरेका छन्।

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्याङ्क छैन। कुकुरलाई कुनै सङ्केत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा कुकुरका आहारा हुन्।

सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताउनुभयो। उहाँले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सिंहदरबारमा मुख्य चारवटा गेट भए पनि सातवटा ढोका छन्। कति कुकुर भित्रिन्छन् र कति बाहिरिन्छन् भन्ने तथ्याङ्क राख्न सम्भव छैन। दक्षिणी गेट सधैँ खुलै रहन्छ। अन्य गेट बन्द गरिए पनि ढोकामा रहेका फराकिलो प्वालका कारण कुकुर सजिलै आउजाउ गर्छन्।”

उहाँका अनुसार बेला–बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र–बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन। उहाँले भन्नुभयो, “तीन महिनाअघि यहाँका कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्वको खोप लगाइएको थियो तर अहिले बन्ध्याकरण गरिएका र खोप लगाइएका कुकुरको पहिचान गर्ने अवस्था छैन। तिनीहरू सिंहदरबारभित्र वा बाहिर छन् यसै भन्न सकिँदैन।” 

सिंहदरबारसहित महानगरपालिकाभरिका कुकुर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा ५० लाख रुपियाँ विनियोजन गरे पनि कुकुरको ‘फिडिङ जोन’ निर्धारण गरिएको देखिँदैन। काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सधैँ बाहिर–भित्र गरिरहेकाले सिंहदरबारभित्रका कुकुरको सङ्ख्या यकिन गर्न सक्ने अवस्था छैन। 

विभागका पशु चिकित्सक अवधेश झाले भन्नुभयो, “खोप लगाइएका र बन्ध्याकरण गरिएका कुकुरलाई रङ लगाइन्छ। त्यो रङ बढीमा एक हप्ता बस्छ। रङअनुसार उनीहरूको तथ्याङ्क प्रविष्ट गरिएको हुन्छ। रङ खुइलिएसँगै उनीहरूको पहिचान पनि हराउँछ।”

सिंहदरबार वा बाहिरका कुकुरलाई कामपाले खानेकुरा उपलब्ध गराउँदैन। कुकुरले आफैँ खोजेर खानुपर्ने हुन्छ। सिंहदरबारसहित काठमाडौँको सडकमा करिब २२ हजार कुकुर रहेको अनुमान छ। “सबैलाई खाना खुवाउन साध्य हुँदैन,” उहाँले अगाडि भन्नुभयो, “कोही घाइते वा बिरामी भयो भने मात्र त्यसको हामी उपचार व्यवस्था गर्छौं।” महानगरले विनियोजन गरेको बजेट उनीहरूको उपचारका लागि मात्र हो। खानाका लागि होइन।”