• १० पुस २०८१, बुधबार

कर्णालीमा औलोको चिन्ता

blog

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख १४ गते  । कर्णाली प्रदेशमा औलो रोग चिन्ताको विषय बनेको छ। कर्णालीमा रहेका औलोका बिरामीभन्दा विदेशबाट औलो लिएर आउने बिरामी बढी छन्। आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा कुल ४८ जना औलोका बिरामी छन। तीमध्ये विदेशबाट औलो लिएर आउने बिरामीको सङ्ख्या ३० जना रहेको छ। १८ जना बिरामी नियमित रूपमा गाउँमा बस्नेछन्। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आयातित बिरामीको सङ्ख्या बढी हुँदा औलो निवारणमा चुनौती थपिएको जनाएको छ।

निर्देशनालयका औलो फोकलपर्सन श्यामलाल आचार्यले वैदेशिक रोजगारीबाट फर्किएकाले औलो रोग पनि ल्याउने गरेको बताउनुभयो। उहाँले आयातित बिरामीको उपचार हुन सके रोग नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।

नेपालमा आर्थिक वर्ष २०७७/७८ मा ४९१ जना औलोका बिरामीमध्ये आयातित बिरामीको सङ्ख्या ४५३ रहेको छ। स्थानीय बिरामीको सङ्ख्या ३८ मात्र रहेको छ। कर्णालीका हुम्ला, कालीकोट, मुगु र सुर्खेतका गरी १३ वटा वडा औलोको उच्च जोखिममा छन्। हुम्लाको ताँजाकोट गाउँपालिका–१, २, ३ र ४ अदानचुली–२ र ५ तथा चङ्खेली–२, कालीकोटको खाँडाचक्र नगरपालिका–२, मुगुको सोरु गाउँपालिका–४ र ५ तथा खत्याड गाउँपालिका–८, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ र वीरेन्द्रनगर नगरपालिका–७ औलोको जोखिममा रहेको फोकलपर्सन आचार्यले जानकारी दिनुभयो। देशभर ४१२ वटा वडा औलोको जोखिममा छन्। जोखिमयुक्त वडामा झुल वितरण गर्ने, लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कने, बिरामी खोजपड्ताल गर्ने काम भइरहेको जनाइएको छ। 

स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले नेपाललाई सन् २०२५ मा औलो निवारण घोषणा गरिने भएकाले सोको तयारीस्वरूप रोग नियन्त्रणको काम भइरहेको जानकारी दिनुभयो। उहाँले कर्णालीका हिमाली तथा दुर्गम क्षेत्रमा औलो रोगको सङ्क्रमण बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै कर्णालीमा हालसम्म औलोबाट कसैको मृत्यु नभए पनि चुनौती भने थपिएको बताउनुभयो। 

हुम्ला समाचारदाताका अनुसार ताँजाकोट गाउँपालिकाका सबै घरधुरीमा लामखुट्टे नियन्त्रणका लागि विषादी छिट्ने कार्य गरिएको छ।

ताँजाकोट गाउँपालिकाको महिला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालका अनुसार गर्मी बढेसँगै लामखुट्टे भित्रिने र औलो रोगका बिरामी देखिने भएका कारण नियन्त्रण गर्न विषादी छर्कन थालिएको हो। महामारी रोग नियन्त्रण महाशाखा काठमाडौँ, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा विषादी छिट्ने कार्य थालिएको हो। गत वर्ष ताँजाकोट गाउँपालिकामा सात जना औलोका बिरामी देखिएको थियो। यो रोग साउन भदौ महिनामा देखापर्छ। गाउँपालिकाका पाँचवटै वडाका तीन हजार १५० घर, शौचालय, गोठ, कटेरालगायत मानिसको बसोबास हुने सबैतिर विषादी छर्कन थालिएको जनाइएको छ।

ताँजाकोट गाउँपालिकामा छ वर्षदेखि औलो रोग देखा पर्दै आएको छ। गाउँपालिका अध्यक्ष लालकेश जैसीले सन् २०२५ सम्म नेपाल सरकारको औलो रोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न गाउँपालिकाले औलो नियन्त्रणका कार्य गरिरहेको बताउनुभयो।