• ११ पुस २०८१, बिहिबार

आगलागीबाट दस लाखको क्षति

blog

वराहक्षेत्र १० सप्तरी टोलमा मङ्गलबार राति विद्युतीय तार सर्ट भई आगलागी हँुदा नियन्त्रको प्रयास गर्दै स्थानीय र प्रहरी । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, पुस १० गते । वराहक्षेत्र नगरपालिका-१० प्रकाशपुरस्थित सप्तरी टोलमा मङ्गलबार राति विद्युतीय तार सर्ट भई आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । 

स्थानीय नवराज पौडेलको तल पक्कीवाल माथि काठको टाँटी बेरा र टिनको छानो भएको टारे घर जल्दा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरीले कार्यालय सुनसरीले जनाएको छ । 

आगलागीबाट नवराज पौडेलको एउटा ग्वाली, घर, छ ओटा खसी, तीन ओटा बाख्रा, पाँच वटा पाठा, ५० मन धान, २० मन मकै जलेर नष्ट भएको छ । आगलागीमा कोशी कम्पनीको ग्यास सिलिन्डर दुई वटा र ४० हजार नगद सहित तीन बिघाहाको पराल, लत्ता कपडा, भाडावर्तन पूर्ण रूपमा जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

आगो नियन्त्रमा लिन स्थानीयवासी, प्रकाशपुर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक भोलानाथ धमला र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राई सहितको प्रहरीको टोली खटिएको थियो । आगोलागीबाट छिमेकी प्रकाश कार्कीको १५ कठ्ठाको पराल र काठ जल्दा ३० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  

आगोलाई नियन्त्रणमा लिन वराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका र झुम्का नगरपालिकाको बारुद यन्त्रलाई एक घण्टा लागेको थियो ।