राजकुमार भट्टराई
खोटाङ, पुस १० गते । खोटाङको बाँसपानीमा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ ।
केपिलासगढी गाउँपालिका–३ बाँसपानीस्थित राठीमा बुधबार अपरान्ह सुमो गाडी दुर्घटना हुँदा राई गम्भीर घाइते भएका थिए । काठमाडौंबाट केपिलासगढी गाउँपालिका –१ फेदी जादैगरेको ना १ ज ७१८१ नम्बरको सुमो बाँसपाानी भदौरेडाँडाबाट ताप खोला बगरमा झरेको हो ।
सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका राईलाई प्राथमिक उपचार पश्चात तत्काल जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । अस्पताल ल्याएको केही समयमा घाइते दुर्गाप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो ।
सुमोमा एक जना मात्र यात्रु सवार रहेका थिए । सुमोे गाडी सडकबाट करिब ५ सय मिटर तल खोला बगरमा खसेको अवस्थामा भेटिएको स्थानीय प्रताप राईले बताउनुभयो । गम्भीर घाइते राईलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल पठाइएको थियो । दुर्घटना स्थलमा सुमो चालक भने थिएनन् ।
दुर्घटना स्थलबाट फरार भएका सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ का सत्रुधन राई केही समय पश्चात आफै प्रहरीको सम्पर्कमा आएका थिए । अहिले चालक राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।
गाडी रोकेर गाडीको मुनि अड्किएको काठ निकाल्न खोज्दा यात्रुसहित गाडी पल्टिएको चालक राईले बताएको प्रहरीको भनाइ छ ।