• ७ असार २०८२, शनिबार

इरान - इजरायल युद्ध : ‘नेपाल आइपुगेपछि म रोएँ’

blog

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला

शशिधर पराजुली

विराटनगर, असार ७ गते । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला इजरायलतर्फ लाग्दै गर्दा भ्रमण युद्धको डरलाग्दो अनुभवमा परिणत होला भन्ने कल्पनासम्म थिएन । कृषि क्षेत्रको प्रगति अध्ययन गर्न इजरायल जानुभएका उहाँलाई सो भ्रमण युद्धको त्रासदीपूर्ण अविस्मरणीय कथा झैँ बनेको छ । 

जेठ २६ गते राति साढे १० बजे तेल अबिबमा अवतरण हुनुभएका कोइरालाका सुरुका तीन दिन सामान्य रूपमा बितेका थिए । त्यहाँ पुगेको भोलिपल्ट उहाँ अध्ययन कार्यक्रममा सहभागी हुनुभयो । उहाँको नेतृत्वमा रहेको टोलीले पर्सिपल्ट त्यहाँको फूल उत्पादन हुने बगैँचा र बहाई धर्मावलम्बीको मन्दिर अवलोकन गरेको थियो । उहाँले त्यो बगैँचा र मन्दिर एकदमै राम्रो अनि रमणीय रहेको बताउनुभयो ।

कोइरालाले स्मरण गर्दै भन्नुभयो, “अघिल्लो दिनसम्म त्यहाँको दैनिकी र जीवन एकदमै सामान्य चलिरहेको थियो । सबै जना रमाइलो, हाँसीमजाकमै देखिन्थे तर चौथो दिनबाट इरान र इजरायलबिच युद्ध सुरु भयो । आकाशभरि मिसाइल मात्र पट्किरहेका थिए । युद्ध सुरु भएसँगै हाम्रो अध्ययन र भ्रमणका सबै कार्यक्रम स्थगन भए ।’’

फिलिपिन्सका दुई जना सांसद, १५ जना मेयर, उपमेयर र नेपालबाट उहाँ एक्ला प्रतिनिधिका रूपमा त्यहाँ पुग्नुभएको थियो । युद्ध सुरु भएसँगै उहाँको टोलीमा सहभागी १८ जनाकै दैनिकी पूरै प्रभावित भयो । उहाँले भन्नुभयो, “हाम्रो बसाइ अवधिमा करिब ८० पटक जति बङ्करमा बस्यौँ । मोबाइलमा ‘होम फ्रन्ट कमान्ड’ भन्ने एप राखेपछि मिसाइल आउँदै गरेको सबै सूचना प्राप्त हुने रहेछ । मिसाइल टार्गेट गरेदेखि नै पटक पटक सूचना आइरहने हुँदो रहेछ । मिसाइल इजरायलको आकाशमा आइपुग्नुभन्दा ९० सेकेन्डअगाडि ‘अलर्ट साइरन’ बज्ने रहेछ । त्यसपछि तत्कालै सुरक्षित स्थानमा जाने र फर्किनुपर्ने हाम्रो दैनिकी बन्यो ।”

कोइरालाले पहिलो पटक बङ्करभित्र जाँदा निकै डर लागेको भन्दै साइरन बज्न थालेपछि सबै भागाभाग गर्न थालेको र आफू पनि दौडँदै तेस्रो तलाबाट भुइँतलामा रहेको रहेको बङ्करमा पुगेको अनुभव सुनाउनुभयो ।  युद्धरत इजरायलको वास्तविक अवस्था कोइरालाका लागि अत्यन्त डरलाग्दो थियो । उहाँले भन्नुभयो, “हामीले तिहारमा पट्काउने रकेट बम जस्तै आवाज निकालेर आउँदो रहेछ, मिसाइल । ठ्याक्कै त्यस्तै एक पटक म बसेको बङ्करनजिकै भएको बिस्फोटको ठुलो धक्का अनुभव मैले गरेँ । अहिले पनि त्यो घटनाले मलाई बारम्बार झस्काउँछ ।”

केही दिन युद्धभूमिमा बस्दा निकै त्रासमा बसेको भए पनि त्यहाँ बसिरहेका नेपालीमा भने त्यो स्तरको डर नदेखेको कोइराला बताउनुहुन्छ । उहाँले भन्नुभयो, “त्यहाँ काम गरिरहेका नेपाली अहिलेकै अवस्थामा कोही पनि नेपाल फर्कन चाहेको मैले बुझिनँ । उनीहरू एक त त्यहाँको वातावरणसँग अभ्यस्त छन् भने अर्को कुरा त्यहाँको सरकारप्रतिको विश्वास र रोजगारीको अवसरले उनीहरू त्यहीँ सङ्घर्ष गर्न तयार देखिन्छन् ।”

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जोर्डनको बोर्डरसम्म ल्याउन सहयोग गर्नुभएको कोइरालाले बताउनुभयो । उहाँले जोर्डन प्रवेश गरेपछि शान्तिको सास फेरेको अनुभव सुनाउनुभयो । नेपाल आइपुगेपछि भने आफू निकै भावुक बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल आइपुगेपछि म रोएँ । त्यहाँ हुँदासम्म आफू बाँचिएला भन्ने नै लागेको थिएन ।” त्रासमय अवस्थाबाट जोगिएर स्वदेश फर्किनुभएका कोइराला भविष्यमा फेरि इजरायलको भ्रमण गर्न इच्छुक रहेको बताउनुहुन्छ ।