रमेश विश्वकर्मा
गुल्मी, असार ७ गते । गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुनः श्रीप्रसाद भलामी निर्वाचित हुनुभएको छ । ४० औं क्याम्पस सभाको अधिवेशनबाट आगामी तीन वर्षे कार्याकालका लागि अध्यक्षमा भलामी निर्विरोध निर्वाचित हुनुभएको हो ।
सञ्चालक समिति उपाध्यक्षमा धर्म बहादुर विश्वकर्मा रहनुभएको छ । सदस्यहरुमा कृष्णप्रसाद पोखरेल, घनश्याम पाण्डे, थम्मनबहादुर केसी, दुर्गाप्रसाद पाण्डे, निर्मला केसी, बेदप्रसाद कुँवर, राजकुमार श्रेष्ठ, शेषकान्त गौतम र हरिलाल न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता विष्णुप्रसाद बलालले जानकारी दिनुभयो ।
अध्यक्ष भलामीकै यस अघिको कार्यकालमा क्याम्पस सञ्चालक समितिले २०७९ साउन ३० गते ६ महिनाका लागि क्याम्पसलाई आर्थिक सङ्कटकाल घोषणा लगायतका विविध निर्णयले क्याम्पसलाई आर्थिक हिसाबले सबल बनाउन टेवा पुगेको थियो । भलामीकै नेतृत्वमा तत्कालिन समयमा तीन करोड ३६ लाख ८९ हजार तीन सय २७ रुपियाँ कुल आर्थिक दायित्वबाट गुज्रिरहेको क्याम्पसको कुल दायित्व करोडभन्दा तल झरेको थियो ।
क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएसँगै अध्यक्ष भलामीले क्याम्पसलाई देशमै नमूना क्याम्पसका रुपमा चिनाउने गरी शैक्षिक गुणस्तर वृद्धि गर्न दत्तचित्त भएर लाग्ने बताउनुभयो । क्याम्पसलाई गति दिन नयाँ विषयहरु थप गर्ने र क्याम्पसमा दिगो आम्दानीको स्रोत व्यवस्थापन गर्ने कार्य नयाँ सञ्चालक समितिको काँधमा आएको समेत उल्लेख गर्नुभयो । अहिले क्याम्पसमा विद्यार्थीको कुल सङ्ख्या ७३१ रहेको छ ।