• ७ असार २०८२, शनिबार

सीपलाई व्यवसायसँग जोड्न आग्रह

blog

कार्यक्रममा सहभागी ।

काठमाडौँ, असार ७ गते। महिला उद्यमशीलतासँग सम्बन्धित बेकरी बनाउने १५ दिने तालिमको शनिबार एक कार्यक्रमकाबीच समापन गरिएको छ। 

बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उद्योग तथा वाणिज्य कार्यालय त्रिपुरेश्वर काठमाडौँको आयोजना तथा सहभागिता मूलक तालिम तथा अनुसन्धान प्रालिको समन्वयमा सञ्चालित तालिममा काठमाडौँ महानगर पालिका वडा नम्बर ११ का महिलालाई बेकरी निर्माणको सीप सिकाइएको हो। 

तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले तालिममा सिकेको सीपलाई आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो।

महिला दिदी बहिनी अब आर्थिक उत्पादनसँग जोडिनुपर्ने बताउँदै मन्त्री खड्गीले महिलाको हक अधिकार स्थापित गर्न आफू लागि पर्ने बताउनुभयो। उहाँले विगतमा आफ्नो लागि आफैँ लडेको स्मरण गर्दै अब मागेर जीवन चलाउने नभइ आफ्नो परिवारको आर्थिक भार पनि आफैँ बोक्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा विशिष्ठ अतिथि मंगलादेवी फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले बहुउपयोगी तालिम सिक्ने दिदीबहिनीलाई बधाई दिनुभयो। कार्यक्रममा काठमाडौं महानगरपालिका–११ का वडाअध्यक्ष हिरालाल तण्डूकारले सामूहिक योजना बनाएर काम गर्छौ भन्नेलाई महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

१५ दिनसम्म बेकरी बनाउन सिकाएका प्रशिक्षक मिलन विष्टले केही गर्छौँ भन्ने जोशका साथ सीप सिकेका दिदीबहिनीले सिकाइलाई उत्पादनसँग जोड्नेमा विश्वस्त रहेको बताउनुभयो। तालिममा सहभागी प्रिया शर्माले सिकेको सीपलाई व्यवहारमा उतार्ने योजनासहित काम गर्ने विश्वास व्यक्त गर्नुभयो। 

वडा सदस्य आशा श्रेष्ठले महिलाले सीप सिक्ने र व्यवहारमा उतार्ने बेला आएको बताउनुभयो। महिला उद्यमी अमृता सत्याल अर्यालले चुलो चौकोमा मात्र सीमित नभइ उद्यमी बन्न महिलालाई सुझाव दिनुभयो। 

कार्यक्रमको सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै सहभागिता मूलक तालिम तथा अनुसन्धान प्रालिका अध्यक्ष सरिता सापकोटाले यो तालिम आर्थिक उपार्जनमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रम १५ दिनको तालिमपछि तयार पारिएका बेकरी प्रदर्शनमा राखिएको थियो।