विजयकुमार साह
ढल्केबर, पुस ११ गते । सरकारले प्रतिक्विन्टल उखुको न्यूनतम खरिद मूल्य ६५५ रुपियाँ तोकेको छ । यसमध्ये ५८५ रुपियाँ चिनी मिलले दिनु पर्छ भने ७० रुपियाँ सरकारले अनुदान दिने छ तर बाबा बैजुनाथ चिनी मिलले प्रतिक्विन्टल ६५ रुपियाँ घटीमा उखु खरिद गरिरहेको पाइएको छ ।
चिनी मिलले धनुषाको मिथिला नगरपालिका–२, सुखजोर पुलनजिक स्थापना गरेको उखु काँटाबाट प्रतिक्विन्टल ५९० रुपियाँमा उखु किनिरहेका छन् । भुक्तानी चाँडै उपलब्ध गराइदिने आश्वासन दिएर उद्योगले सरकारले तोकेको मूल्यभन्दा घटीमा उखु किनिरहेको स्थानीयले बताएका छन् । बाबा बैजुनाथ चिनी मिलले उखु खरिद गरेको रसिदसमेत नदिने गरेको स्थानीयको भनाइ छ ।
उखु काँटामा रहेका मिलका कर्मचारी मनोज साहले ५९० रुपियाँमै प्रतिक्विन्टल उखु खरिद गरिरहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “उखु तौल गरेको चार दिनभित्र हातैमा पैसा दिन्छौँ । उखु खरिद गरेको रसिद हामी दिँदैनौँ ।”
स्थानीय जगेन्द्र महतोले खेतमा उखु तयार भइसकेपछि बेच्नुपर्ने बाध्यतामा रहेका उखु किसान ठगीमा पर्ने गरेको बताउनुभयो । अनुगमन नहुँदा सो चिनी मिलले अवैध तरिकाबाट उखु खरिद गरिरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार त्यहीँ छेउमा उखु काँटा स्थापना गरेको हिमालय चिनी उद्योग सिराहाले सरकारले तोकेको मूल्यमा किसानको उखु खरिद गरिरहेका छन् । यसरी अवैध तरिकाबाट उखु बिक्री गर्दा किसानले सरकारबाट अनुदान रकम नपाउने र उखु बाली लगाउन उद्योगले दिने सुविधाबाट वञ्चित हुने महतोले बताउनुभयो ।
स्थानीय दिनेश्वर महतोले अरू चिनी उद्योगबारे गलत हल्ला फैलाएर बाबा बैजुनाथ चिनी मिलले सस्तोमा उखु किन्ने गरेको आरोप लगाउनुभयो । अरू उद्योगले समयमा उखुको पैसा नदिने र सरकारले दिने अनुदान रकम पनि छ महिना/एक वर्षपछि दिने जस्ता भ्रम फैलाएर बिचौलियामार्फत उखु किन्ने गरेको उहाँले जानकारी दिनुभयो ।
हिमालय चिनी उद्योग धनुषाका सिनियर मेनेजर सतेन्द्र सिंहले रसिदबिना किसानको उखु खरिद गर्नु गलत भएको बताउनुभयो । उहाँले यसबारे सम्बन्धित निकायले अनुगमन गरेर नियन्त्रण गर्नुपर्ने जानकारी दिनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले यस विषयमा तत्काल अनुसन्धान गरी कारबाही गरिने बताउनुभयो ।